रुपन्देही – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन् ।
रुपन्देहीको तिलोत्तमामा शनिवार आयोजित नेकपा माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पछिल्लो समय जहाँ गएँ त्यहीँ पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ । नेपाली जनताको भरोसालाई अलिकति पनि तोड्न दिने छैन । प्रतिक्रियावादी जालीझेलीहरूले राष्ट्रलाई बन्धक बनाउने, नेपाली जनतालाई भ्रष्टाचारको जाँतोमा पिस्ने जुन काम गरेका छन्, हामी समाजवादी नयाँ आन्दोलनमार्फत त्यसको प्रतिवाद गर्नेछौं । भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सिद्धिँदैछ, को रिभाइभ भएर आउँदैछ भन्ने देखाइसकेको छ । को शक्तिशाली बन्दैछ र कोप्रति जनताको घृणा देखिएको भन्ने संकेत देखिएको छ ।’
उनले थपे, ‘जनताले मनमनै फैसला गरिसकेको छ । जनतालाई माया गर्ने पार्टी माओवादीले नै हो, परिर्वतनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ ।’
माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्म ढंगले बुझ्दै गएका कारण माओवादी केन्द्रलाई जनताले माया गर्न थालेको उनले बताए । आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरूसँग राम्रो सम्बन्ध कायम गर्दै दूरगामी रूपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेको उनले बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘म सरकारमा रहँदा भ्रष्टाचारीहरूलाई कारबाही अगाडि बढाएँ । धेरै राजनीतिक नेताहरू, ठूलाठूला कर्मचारी, भूमाफियाहरूलाई कारबाही गरी राज्यको सम्पत्ति जनताको हातमा ल्याउने काम गरें । भ्रष्टाचारीहरू विरुद्धको कारबाही अगाडि बढाउँदा म प्रचण्ड नै अगाडि देखिएँ, त्यसलाई पनि नछोड्न भनेर सुशासनको अभियान चालियो । मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न ऐन ल्याएर नै समाधान गर्न मेहनत गरियो । त्यसैगरी विदेशमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने काम गरियो । अर्थतन्त्रको सुधारका लागि पहल सरकारबाट लिइयो ।’
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै उनले पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न निर्देशन समेत दिए ।
देशको निम्ति, उत्पीडित वर्ग समुदायको निम्ति, राष्ट्रको स्वाधिनता र एकताको रक्षाका निम्ति, संविधानको रक्षाको निम्ति, सबै उत्पीडित वर्ग समुदाय, किसान मजदुरको हकहितको रक्षाका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउनुपर्छ भन्ने कुरा जनता र माओवादी केन्द्रसँग एकताको प्रक्रियामा आउने र आउँन चाहेका सबैमा पर्दै गएको उनले बताए ।
उनले भने, ‘म खुसी व्यक्त गर्न चाहन्छु, हाम्रो पार्टीमा विभिन्न पार्टीका नेताहरू प्रवेश गर्ने लहरले माओवादी केन्द्र बन्ने दिशामा छ भन्ने देखिएको छ । ठूलो बलिदानमार्फत देशमा सबै वर्गको हक अधिकार स्थापित गरेका छौं । जनताले पाएको अधिकार खोस्न खोजिएको छ, हामी त्यसो हुन दिँदैनौं ।’
कार्यक्रमा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव राम परियारसहित जनमुक्ति पार्टीका नेता–कार्यकर्ताको ठूलो टीम माओवादी केन्द्रमा समाहित भएको थियो । कांग्रेस–एमाले परित्याग गरी कांग्रेस–एमालेका नेता कार्यकर्ता समेत माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया