काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
उनको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूमा उपचार भइरहेको छ । अध्यक्ष प्रचण्ड आईतबार साँझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिँदै परिवारसित पनि भेट गरेका थिए । सो क्रममा उपचारमा संलग्न चिकित्सकहरूले उनको छातीमा संक्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए ।
सो क्रममा महासचिव किरणले क्याबिनको भन्दा आईसीयूमा सारेपछि केही सहजता महसूस भएको अध्यक्ष प्रचण्डलाई जानकारी गराए । अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्य लाभको कामना गरेका छन् ।
सो क्रममा दुवै जना भावुक पनि भएका थिए । अध्यक्ष प्रचण्ड र महासचिव किरणबीच २०३८–२०६८ सम्म निकै घनिष्ट सम्बन्ध रहेको थियो । पार्टी विभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उनीहरूले एकअर्कालाई निकै आदरभावका साथ सम्मान गर्दै आएका छन् ।
प्रतिक्रिया