प्रचण्डको स्वीकारोक्ति : पार्टीमा चरम व्यक्तिवादी अराजकता मौलायो, नेतृत्वलाई अप्ठ्यारो पर्‍यो

प्रचण्डको स्वीकारोक्ति : पार्टीमा चरम व्यक्तिवादी अराजकता मौलायो, नेतृत्वलाई अप्ठ्यारो पर्‍यो


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र चरम व्यक्तिवादी अराजकता मौलाएको स्वीकारेका छन् ।

आईतबारदेखि काठमाण्डुमा सुरु भएको पार्टी केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र मौलाएको चरम व्यक्तिवादी अराजकताले पार्टी नेतृत्वलाई अप्ठ्यारो परिरहेको बताए ।

‘हाम्रा चपाउने दाँत एउटा र देखाउने अर्कै छ,’ उनले बैठकमा भने, ‘चन्दा र कमिसनमा रमाउने नेता–कार्यकर्तालाई उत्पादन र श्रममा फर्काउनुको विकल्प छैन ।’ पार्टीको वर्ग चरित्रको प्रश्न जटिल भएकाले सच्चिने र सच्याउने गरी कार्ययोजना बनाएर जानुपर्ने उनले बताए ।

केन्द्रीय समितिको उद्घाटन गर्दै प्रचण्डले आइतबार पार्टी महाधिवेशनको मिति तोकेर विचार संश्लेषण गरेर जाने बताए । माघसम्ममा सबै स्थानीय सम्मेलन गर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले संविधान सभाबाट संविधान निर्माण गर्नेक्रममा माओवादीले राखेको फरक मत संविधान सभामा दर्ज फरक मतलाई नै संविधान संशोधनको विषय बनाउने बताए ।