काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक बताएका छन् ।
पार्टीको ३ दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले ऐतिहासिक र दूरगामी महत्त्वको बैठक भएको बताए ।
बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए । बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोशेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रम भङ्ग गरेको उनले स्पष्ट गरे ।
अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एकैदिन सुरु भएर एकैदिन सकिएको माओवादी केन्द्र र एमालेको बैठकलाई देश दुनियाँले हेरेर मूल्यांकन गर्ने अवसर पाएको उल्लेख गर्दै आफ्नो पार्टीले अरुलाई गालीगलौज होइन, आफ्नो पार्टीको मात्र होइन, देशकै आगामी मार्गचित्र स्पष्ट गरेको बताए ।
उनले दुवै पार्टीका बैठकबाट जनताले माओवादी र एमालेबीचको सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा छ, को आन्तरिक लोकतन्त्रको पक्षमा र को निरंकुश रहेछ भन्ने राम्रोसित तुलना गर्ने अवसर पाएको बताए । ‘एमालेले विवादित विषयमा आलोचना गर्नेमाथि कारबाही र निष्कासन गरेर बैठकको सुरुवात गर्यो भने हामीले पार्टीभित्र उठेका मतलाई देशैभरि परामर्श बैठकमार्फत उच्च लोकतन्त्रको अभ्यासमार्फत बैठक आयोजना गरेर उच्च जनवादको अभ्यास गरेका छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘यी २ पार्टीका बैठकबाट एमालेलाई वुर्जुवा पुँजीवादी पार्टी र माओवादी केन्द्रलाई वैचारिक निष्ठा सहितको समाजवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीको रूपमा थप स्थापित गर्ने अवसर प्राप्त भयो ।’
अध्यक्ष प्रचण्डले अब अभियानमार्फत व्यापकरूपमा जनताको बीचमा गएर महाधिवेशनमा जाने बताए । उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई उनले सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराएको जानकारी दिँदै अन्य नेताहरूको कार्यविभाजन गर्दा उनको पनि गरिने बताए ।
बैठकले अब पहिलो ६ महिना अभियानमा जाने र त्यसपछि अर्को ६ महिनाको तयारी गरेर नयाँ विचार संश्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको छ । ६ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष प्रचण्डले घोषणा गरे । अभियानबाट व्यापक रूपमा जनताको सुझाव आउने भएकाले ६ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने उनले स्पष्ट गरे ।
माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताहरूको १ हप्ताभित्र कार्यविभाजनलाई अन्तिम रूप दिने र माघको पहिलो हप्तासम्म सर्कुलर गरिने अध्यक्ष प्रचण्डले जानकारी दिए ।
बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ । समितिले चाँडै एकता वार्ताको पहल गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिए ।
बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पार्टी रूपान्तरण र पुनर्गठनको संकल्प, आजको ऐतिहासिक आवश्यकता शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएका थिए ।
प्रतिक्रिया