गोरखा – पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कूल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन् ।
सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका–८ आहाले गोरखाको स्वर्ण जयन्ती उद्घाटन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको दाबी गरे ।
उनले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रस्ट पारेको बताए । आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा विधेयक ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त गरे ।
कुनै पनि देशको शिक्षा प्रणालीले त्यहाँको सभ्यताको निर्धारण गर्ने उल्लेख गर्दै उनले सामुदायिक विद्यालयमा पर्याप्त विद्यार्थीसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको महत्त्वपूर्ण पक्ष भएको बताए । पछिल्लो समय धेरै सामुदायिक विद्यालयले प्रगति गरिरहेको उल्लेख गर्दै यसलाई अझै बढाएर लैजानुपर्ने बताए ।
आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्ग लगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्त्वपूर्ण थालनी र गरीब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै उनले दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरेको बताए ।
उनले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगले अघि बढाउँदा बिचौलिया र भ्रष्टहरूले सरकारबाट हटाएको बताए ।
‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आमजनताका लागि आशाको दियो बन्न पुग्यो,’ उनले भने, ‘माथिल्लो तहका नेताहरू, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको औंल्याउँदै उनले गोरखाको समग्र विकासका लागि सक्दो योगदान गर्ने बताए ।
प्रतिक्रिया