तराई–मधेश जागरण अभियानको तयारीमा जुट्न अध्यक्ष प्रचण्डको निर्देशन

तराई–मधेश जागरण अभियानको तयारीमा जुट्न अध्यक्ष प्रचण्डको निर्देशन


महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सुरु गर्न थालेको तराई–मधेश जागरण अभियानको तयारीमा जुट्न मधेश प्रदेशका नेताहरूलाई निर्देशन दिएका छन् ।

माओवादी केन्द्र मधेश प्रदेशमा कार्यरत केन्द्रीय तहका सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले मधेशमा माओवादी पार्टी बलियो रहेको बताए ।

पार्टीले जनतासँग माओवादी तराई–मधेश जागरण अभियान सुरु गर्न थालेको जानकारी दिँदै उनले फागुन १२ गतेदेखि सुरु हुने अभियान सफल हुँदा मधेशमा राम्रो आधार हुने बताए ।

झापाबाट सुरु गरेर कञ्चनपुरमा हुलाकी मार्ग केन्द्रित अभियान सकेपछि पहाड र हिमाली क्षेत्रलाई केन्द्रित गरेर मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम जागरण अभियान सञ्चालन गरिने जानकारी दिँदै अध्यक्ष प्रचण्डले दुवै अभियान सकिएपछि काठमाण्डुमा देशभरको पहिचान झल्किने गरी भव्य प्रदर्शन र सभा गर्ने बताए । अहिले विभिन्न जाति समुदायको अधिकार खोज्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले यी ३ वटै अभियान पूरा हुँदा नयाँ राष्ट्रिय एकता पैदा हुने र जनताको अधिकार खोस्न चाहने तत्वहरु पराजित हुने विश्लेषण सुनाए ।

अभियानपछि केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको तयारीमा लाग्ने पछिल्लो केन्द्रीय समितिको बैठकको निर्णय स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब नेतृत्व चुनावबाटै निर्वाचित हुने भएकाले सबैलाई कार्यकर्ता र जनतासँग जोडिएर काम गर्न पनि निर्देशन दिए ।

पहिले मधेशमा माओवादी पहिलो पार्टीको रूपमा रहेको र अहिले पनि नेता कार्यकर्ताको संख्या तथा जनमतका हिसाबले बलियो रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सबै नेता कार्यकर्ताबीच बलियो एकता कायम गर्न सके फेरि पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन् ।