माओवादीमा रोगको संक्रमण भयो, उपचार खोज्दैछौं : अध्यक्ष प्रचण्ड

माओवादीमा रोगको संक्रमण भयो, उपचार खोज्दैछौं : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना दलको सहकार्यले उनीहरूभित्रको रोग माओवादीमा पनि संक्रमण भएकाले रोगको उपचार खोज्न जनताको बीचमा आएको बताएका छन् ।

जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दागर्दा उनीहरूको रोग माओवादीभित्र पनि देखिन थालेको बताए ।

पार्टीभित्र विभिन्न तहका परामर्श बैठकबाट रोग पहिचान गरेर यसको उपचार गर्ने डाक्टर जनता मात्रै हुन भन्ने निष्कर्षसहित उपचार खोज्न जनताको बीचमा आएको उनले बताए ।

माओवादीप्रति विश्वास गरेका लाखौंलाख जनताको विश्वास कायम राख्न नसक्नु कमजोरी भएको उल्लेख गर्दै उनले सबैभन्दा पहिले आफ्ना कमीकमजोरी सच्याएर जनतातिर फर्किन केन्द्रीय समिति बैठकले दिएको निर्देशनअनुसार पार्टीको सन्देश बोकेर अभियान थालिएको बताए । हुलाकी मार्ग वरिपरि सबैभन्दा धेरै उत्पीडित वर्ग र समुदायको बसोबास रहेकाले समुदायभित्रै छिरेर जनताको मनको कुरा नजिकबाट बुझ्ने कोसिस गरिरहेको उनले बताए । त्यहीँअनुरूप जनताको घरमा बस्ने, उनीहरूले जे खान्छन्, त्यहीँ खाने, जस्तोमा बस्छन्, त्यही बस्ने गरेको अध्यक्ष प्रचण्डले बताए ।

हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग गर्ने उनले बताए । लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ सालमा प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिए ।

प्रतिक्रियावादी दिशाउन्मुख रहेकाले नक्कली मधेशवादी दलसँग सावधान रहन उनले आग्रह गरे । मधेशको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेशी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै उनले मधेशसँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने १ हजार ३०० मधेशका सहिदसहित मधेश मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे ।

पार्टी उपमहासचिव एवं मधेश प्रदेश इन्चार्ज मात्रिका यादवले पार्टीले सत्तामुखी होइन, जनतामुखी हुने नीति लिएपछि मधेशी जनतामा आकर्षण फर्किन थालेको उल्लेख गर्दै अब मधेशलाई लाल मधेश बनाउने उद्घोष गरे । उनले मधेश जागरण अभियानले जनता जागृत हुँदै गरेको उल्लेख गर्दै अब गाउँगाउँमा पुगेर संगठन सुदृढ गरिने बताए ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माओवादी जनयुद्ध र मधेश आन्दोलनका कारण मधेशी जनताले पहिचान, संघीयता, समावेशी, समानुपातिक अधिकार पाएको उल्लेख गर्दै मधेशवादी दल विभाजन र नातावाद कृपावादले अब मधेशको नेतृत्व गर्न सक्ने अवस्था नरहेकाले परिवर्तनको रक्षा गर्न माओवादीलाई बलियो बनाउने बेला आएको बताए । मधेशी जनताको मुक्तिका लागि आफू मधेशवादी दल छाडेर नेपाल समाजवादी पार्टी बनाएर माओवादीसँग एकताको प्रक्रियामा रहेको उल्लेख गर्दै उनले मधेशमा अब माओवादीले मात्रै बलियो शक्तिको रूपमा नेतृत्व गर्नसक्ने बताए ।