महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले अघि बढाएको तराई–मधेश जागरण अभियानले दक्षिण नेपालका लाखौं जनतामा नयाँ भरोसा जगाउँदै लगेको बताएका छन् ।
जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानको क्रममा महोत्तरीको मटिहानीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखे ।
अध्यक्ष प्रचण्डले झापाबाट सुरु गरेर मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा हुँदै महोत्तरीसम्म आउँदा लाखौं जनतामा उत्साह सिर्जना गरेको र कञ्चनपुरसम्म पुग्दा दशौं लाख जनतामा नयाँ विश्वास र भरोसा जागृत गरेको बताए ।
उनले पार्टीको अभियानले तराई–मधेशमा सिर्जना गरेको जनलहरले अन्य राजनीतिक दलमा आतंक सिर्जना सुरु भएको बताए । आफूलाई ठूला भन्ने दल र आफूलाई मधेशी समुदायको मसिहा ठान्ने दलहरू माओवादीको अभियानबाट आत्तिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसबाट जनतामा भने जागरणको लहर सिर्जना गरेको बताए ।
लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ सालमा प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिए । उनले नेपालमा ३०० वर्षअघि संस्थागत रूपमा शिक्षाको सुरु भएको र महत्त्वपूर्ण मठ मन्दिर रहेको महोत्तरीको मटिहानी महत्त्वपूर्ण रहेको बताए ।
सो क्रममा माओवादी केन्द्रमा प्रवेश गर्ने जसपा नेपालका नेता नवीनकुमार महतोलाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए । बिहीबार दिनभर अभियान महोत्तरीको हुलाकी मार्ग आसपासका पालिकाहरूमा केन्द्रित हुनेछ ।
प्रतिक्रिया