काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि मंगलबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
सोमबार सभामुख देवराज घिमिरेले बोलाएका प्रमुख सचेतकहरूको बैठकले पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डलाई मंगलबार बोल्न समय दिने निर्णय गरेको हो ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकले संसद्बाट स्वीकृत भएका ५ वटा अध्यादेश सम्बन्धी प्रतिस्थापन विधेयक बुधबार बस्ने प्रतिनिधि सभाको कार्यसूचीमा राखेर प्रक्रिया अघि बढाउने तय गरेको छ । उनले २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा स्वीकृत अध्यादेश बमोजिमका प्रतिस्थापन विधेयकहरूको प्रक्रिया अघि बढाइने जानकारी दिए ।
उनले भने, ‘बैठक विशेषगरी भोलि २७ गते र २८ गते प्रतिनिधि सभाको बैठक बस्छ । सरकारले अहिले अध्यादेश स्वीकृत भएपछि स्वीकृत अध्यादेश बमोजिम प्रतिस्थापन विधेयक पनि संसदमा दर्ता गरिसकेको छ । त्यसलाई कार्यसूचीमा समावेश गर्ने विषयमा आज छलफल भएको हो । त्यसलाई २८ गतेको बैठकमा प्रतिस्थापन विधेयकलाई कार्यसूचीमा समावेश गरेर जाने भन्ने गरी छलफल भयो । संसद्मा सरकारले दर्ता गरेको ५ वटै प्रतिस्थापन विधेयकलाई २८ गते नै पेश गरे प्रक्रिया आरम्भ गर्छौं ।’
प्रतिक्रिया