काठमाण्डु – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यकता परेमा संसद्को विशेष अधिवेशन बोलाएर भए पनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् ।
राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उनले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए । माग पूरा नहुञ्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई अपिल गरे ।
‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्,’ आन्दोलनरत शिक्षकहरूलाई लक्ष्य गर्दै प्रचण्डले आईतबार काठमाडौंमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा भने, ‘कहिले सिट्ठी बजाउनुस्, कहिले के गर्नुपर्छ गर्नुस्, हामी तपाईंहरूको साथमा छौं ।’
चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू काठमाण्डुकेन्द्रित आन्दोलनमा छन् । उनीहरूले विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग गरेका छन् ।
अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग पूरा गर्न संसद्को विशेष अधिवेशनका लागि प्रतिपक्षी दलहरूसँग संवाद थाल्ने बताए । ‘शिक्षकहरूका माग पूरा गर्न जरूरी पर्यो भने विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पूरा गर्नेतिर हामी अघि बढ्छौं । म आजैदेखि प्रतिपक्षी दलहरूसँग छलफल गर्छु,’ उनले भने ।
सरकारले हतारिएर संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेको उनले बताए । अध्यक्ष प्रचण्डले शिक्षकहरूलाई सताउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया