काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कहिले कसैसँग कहिले कसैसँग मिल्दा त्यसको परिणाम जनतालाई राम्रो नभएको बताएका छन् ।
शनिबार नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले माओवादी आत्मालोचनासहित उत्पीडित वर्ग र समुदायको हक अधिकारलाई समाजवादको दिशामा अगाडि बढाउन सधैं प्रतिबद्ध रहेको बताए ।
उनले भने, ‘हामीले कहिले कसैसँग कहिले कसैसँग सहमति गर्दा त्यसको परिणाम जनतालाई राम्रो भएन । जबसम्म सम्पूर्ण रूपले नेवा समुदायको पहिचान स्थापित हुने छैन, तबसम्म माओवादी केन्द्रले तपाईंहरूको साथ छाड्ने छैन । तपाईंहरू हामीलाई साथ दिनुहोस् । अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ, त्यो अहिलेको सरकारका गलत काम क्रियाकलापका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहसजस्तो गरेका छन् । त्यो सफल हुने छैन । सरकारका गलत क्रियाकलापविरुद्ध खबरदारी पनि हो र प्रतिगामी षड्यन्त्रविरुद्ध चुनौती पनि हो । यसलाई सफल हुन दिइने छैन ।’
नेवा समुदायको पहिचान पूरै स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने उनले बताए । उनले अहिलेको सरकार र राजावादीहरूलाई लक्षित गर्दै प्रतिगामी षड्यन्त्रविरुद्ध एकजुट हुन समेत आग्रह गरे ।
प्रतिक्रिया