शिक्षकहरूलाई प्रचण्डको अपिल : आन्दोलनलाई निरन्तरता दिनुस्, पटक–पटक धोका भयो

शिक्षकहरूलाई प्रचण्डको अपिल : आन्दोलनलाई निरन्तरता दिनुस्, पटक–पटक धोका भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाण्डु केन्द्रित शिक्षक आन्दोलनलाई निरन्तरता दिन अपिल गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकलाई अपमानित गरेको आरोप लगाए ।

उनले पटक–पटक वार्ता गरेर पनि माग पूरा नभएकाले धैर्यतापूर्वक आन्दोलन जारी राख्न शिक्षकहरूलाई अपिल गरे । उनले भने, ‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु । तपाईंहरूले पटक–पटक आन्दोलन गर्नुभएको, पटक–पटक सम्झौता गर्नुभएको छ र पटक–पटक धोका भएको छ । यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ । शिक्षकहरूको अझै धेरै छ ।’

एमालेकै शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएको विषयले सरकार गैरजिम्मेवार रहेको अर्को प्रमाण भएको उनले बताए । उनले भने, ‘अझ हिजो अर्को एउटा घटना घट्यो । एमालेकै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभयो । यसबाट पनि सरकार कति धेरै गैरजिम्मेवार छ भन्ने कुराको नयाँ प्रमाण प्रस्तुत भएको छ । यो सरकार आफ्नै बोझ थाम्नसक्ने वाला छैन । आफ्नै बोझमा दबिएर यो सकिन्छ । हामी चाहन्छौं कि सरकारले अझै पनि बुद्धि पुर्‍याओस् ।’

उनले थपे, ‘शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा होइन । हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भनेको भन्दा बाहेक केही होइन । हिजो जे सम्झौता भएको थियो, त्यो सम्झौताअनुसार ऐन बनाइदेऊ भनेको मात्रै हो । तर त्यसमा प्रधानमन्त्री असाध्यै नकारात्मक भइदिएपछि के हुन्छ ।’

नेपाल शिक्षक महासंघको आह्वान नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै २० दिनदेखि शिक्षकहरू काठमाण्डु केन्द्रित आन्दोलन गरिरहेका छन् । शिक्षामन्त्री भट्टराईले सोमबार राजीनामा दिएपछि शिक्षक आन्दोलन जटिल मोडमा पुगेको छ ।