चीन भ्रमण आशा गरे भन्दा पनि धेरै सफल भयो : प्रधानमन्त्री प्रचण्ड

चीन भ्रमण आशा गरे भन्दा पनि धेरै सफल भयो : प्रधानमन्त्री प्रचण्ड


चीन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरे भन्दा पनि धेरै सफल भएको बताएका छन् ।

तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताए ।

राष्ट्रपति सी चिनफिङ र चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरू गर्नुले चीनले नेपाललाई विशेष महत्त्वका साथ हेरेको पुष्टि भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

भ्रमणका क्रममा नेपाल र चीनबीचका विगतमा बन्द भएका सबै नाका सञ्चालन गर्ने, परम्परादेखि पासका रूपमा चल्दै आएका साना–साना नाकाहरू पनि सबै सञ्चालन गर्ने सहमति भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

विगतमा सञ्चालन भएका प्रायः सबै नाकाहरू खुलिसकेका र बाँकी रहेका साना ठूला सबै नाकाहरू छिट्टै खुल्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचका सबै नाकाहरू खुलेपछि नेपाल–चीनको व्यापार व्यवसायका क्षेत्रमा नयाँ फड्को मार्ने उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले अघिल्लोपटक आफूले ल्हासाको भ्रमण गर्दा नेपाली महावाणिज्यदूतावासको भवन पुरानो रहेकोमा अहिले नयाँ भवन बनेको देखेर खुशी लागेको भन्दै नयाँ भवनको उपयोग गर्दै नयाँ उत्साहका साथ काम गर्न महावाणिज्यदूत र दूतावासका सबै कर्मचारीलाई निर्देशन दिए ।

उनले नेपाल–चीनबीच भएका सहमति तथा सम्झौताहरू कार्यान्वयनका लागि सक्रिय रहन महावाणिज्यदूत ढकाललाई विशेष निर्देशन दिए ।

कार्यक्रममा ल्हासाका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालले नेपाल–चीन सम्बन्धमा ल्हासाको भूमिका र महत्त्व, महावाणिज्य दूतावासले गरिरहेको काम तथा अब गर्नुपर्ने महत्त्वपूर्ण कामहरू र भोगिरहेको समस्या लगायतबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए ।

कार्यक्रममा भ्रमण दलका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।