प्रधानमन्त्री प्रचण्डसँग भाषा आयोगका पदाधिकारीको भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग भाषा आयोगका पदाधिकारीको भेटवार्ता


काठमाण्डु – भाषा आयोगका अध्यक्ष सहितका पदाधिकारीले आज बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न भएको छलफलमा उनीहरूले सरकारी कामकाजको भाषा सम्बन्धी पहिले भएका सिफारिसमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस पेश गरेका थिए ।

भेटवार्तामा आयोगभित्र रहेका व्यवस्थापनका आन्तरिक समस्या र तिनका समाधानबारे पनि छलफल भएको थियो ।

आज बिहीबार नेपाल ट्रस्टका पदाधिकारीले पनि ट्रस्टको नामका रहेको सम्पत्ति र तिनको उपयोगबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन् । छलफलका क्रममा ट्रस्टका सम्पत्तिको अभिलेख राख्ने र उपयोगका विधिबारे पनि चर्चा भएको थियो ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहसहित आएको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको छ । भुक्तानी सम्बन्धी आफूहरूको मागमा कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीको मागप्रति आफ्नो ध्यानाकर्षण भएको र मागको उचित सम्बोधन हुने बताएका थिए ।