राज्यमाथि जनताको निगरानी जति प्रभावकारी हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुन्छ : प्रचण्ड

राज्यमाथि जनताको निगरानी जति प्रभावकारी हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुन्छ : प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यमाथि नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावशाली हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै बलियो हुने बताएका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिकाका पूर्व उपमेयर कविता ढुंगानाद्वारा लिखित पुस्तक स्थानीय सरकारः अपेक्षा र अवस्था पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘कविताजीको यो पुस्तक स्थानीय सरकारका भोगाइ र अनुभव सहितको सैद्धान्तिक र व्यावहारिक कृति हो । यस्तो महत्त्वपूर्ण कृतिका लागि लेखकलाई बधाई व्यक्त गर्दछु ।’

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी राष्ट्रिय कार्यभार हो । यतिबेला हामी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कानूनहरू निर्माण गर्ने चरणमा छौं । यस सन्दर्भमा हामी सबैले गम्भीर रूपमा चिन्तन गर्न जरूरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने बेला प्रयत्न हुने गरेको छ, यस्तो बेला स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरूरी छ । राज्यमाथि जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावकारी हुन्छ, राज्यलाई त्यति नै लोकतान्त्रिक बनाउँछ ।’

ऐन, नियम र कैयौ कार्यविधि बनाउन बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘एकथरि मानिसहरू ऐन बनाउने र यो परिवर्तनको परिणाम सकारात्मक रूपमा जनतालाई दिनेभन्दा ऐन बन्न नदिने वा कुनै तरिकाले रोक्ने अनि गणतन्त्रले राम्रो गरेको छैन भनाउन चाहने प्रवृति पनि हामी कहाँ छ । यो प्रवृत्ति हलो अड्काउने र गोरु चुट्ने भने जस्तो प्रवृति हो ।’

प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेका ऐन, कानून लागू राम्रोसँग नगरिदिने र यो व्यवस्था नै ठीक छैन भनेर फेरि पुरानै सामन्ती निरंकुशतातिर फर्काउन चाहने कसरत विभिन्न कोणबाट देखापरेको बताए ।