कोशीमा कार्कीलाई नै विश्वासको मत दिएर गठबन्धन जोगाउँछौं : प्रधानमन्त्री प्रचण्ड

कोशीमा कार्कीलाई नै विश्वासको मत दिएर गठबन्धन जोगाउँछौं : प्रधानमन्त्री प्रचण्ड


चितवन – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएका छन् ।

एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका सांसद कार्कीलाई वर्तमान केन्द्रिय सत्ता गठबन्धनले पनि विश्वासको मत दिने उनले दाबी गरे ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालासँग कुरा गरेको बताउँदै गठबन्धन टुट्न नदिने बताए । कोशीमा कार्कीलाई विश्वासको मत दिएर गठबन्धन जोगाउने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले कोशीमा गठबन्धनकै सरकार हुने र सर्वपक्षीय सरकारको सम्भावना नभएको दाबी गरे । उनले रिफ्रेसका लागि आफू चितवन आएको बताए ।

कांग्रेसको संस्थापन इतरका ८ र एमालेका ३९ जना सांसदको समर्थन लिएर बहुमत पुर्‍याउँदै आज शनिबार बिहान कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कोशी प्रदेशमा संविधानको धारा १६८(५) बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको थियो ।

एमालेको समर्थनमा कांग्रेसको संस्थापन इतरका केदार कार्की र गठबन्धनबाट माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले समयमै दाबी पेश पनि गरे तर सनाखतको बहानामा प्रदेश प्रमुख पर्शुराम खापुङले आफैंले दिएको समय पनि त्यत्तिकै टारिदिएका थिए । सशरीर सांसद उपस्थित भएर सनाखत गरेपछि आज कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

कार्कीले भोलि आईतबार मुख्यमन्त्री पदको शपथ ग्रहण गर्ने र मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ ।