नागरिकले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हो : प्रधानमन्त्री प्रचण्ड

नागरिकले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हो : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम नागरिकले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको बताएका छन् ।

६८औं प्रहरी दिवसको उपलक्ष्यमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आम नागरिकले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको छ, यो आफैंमा महत्त्वपूर्ण कुरा हो ।’

नागरिकका हरेक सरोकार र राज्यका हरेक समस्यामा नेपाल प्रहरीले प्रथम पंक्तिमा रहेर सम्बोधन र समाधान गरेको उनले बताए । बदलिएको परिस्थिति अनुरूप आफूलाई रूपान्तरित र परिमार्जन गरेर मात्र हरेक संस्था, नेतृत्व र व्यक्तिले आफ्नो नेतृत्व क्षमता राम्रोसँग प्रमाणित गर्न सक्छ भन्ने एउटा जीवन्त उदाहरण नेपाल प्रहरी भएको उनले बताए । हरेक क्रान्तिपछिको बदलिएको राजनीतिक परिवेशमा नेपाल प्रहरीले परिवर्तनलाई अगाल्न सक्ने क्षमता प्रदर्शन गरेको प्रत्यक्ष हेर्न र अनुभूत गर्न पाउँदा आफूले गौरवको महसूस गरेको उनले बताए ।

नेपाल प्रहरीको छविमाथि प्रश्न उठ्ने कुनै पनि प्रकारका अवान्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी नेतृत्व पूर्णतः सक्षम रहने उनको विश्वास छ । प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको संविधान बमोजिम, नेपाल प्रहरीले संघीय संरचनामा जान रूपान्तरणको तयारी गरेको कार्यहरू समेत महत्त्वपूर्ण छन् । भविष्यमा संघीय संरचनामा आउन सक्ने अवसर, चुनौती र संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले सबै प्रदेशहरूमा प्रदेश प्रहरी कार्यालयहरूसँग सहज, सुमधुर र प्रभावकारी सुपरीवेक्षण र समन्वयको कार्य गर्नेछ भन्ने विश्वास समेत लिएको छु ।’

प्रधानमन्त्री प्रचण्डले वीर अमर प्रहरीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्यपालनका क्रममा घाइते भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभ र दीर्घायुको कामना गरेका छन् ।