भूकम्प पीडितको राहत र उद्धारमा राज्यले सफलतापूर्वक कर्तव्य निर्वाह गरेको छ : प्रचण्ड

भूकम्प पीडितको राहत र उद्धारमा राज्यले सफलतापूर्वक कर्तव्य निर्वाह गरेको छ : प्रचण्ड


नेपालगञ्ज – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट पीडित बनेकाहरूको राहत र उद्धारका लागि राज्यले आफ्नो कर्तव्य सफलतापूर्वक निर्वाह गरेको बताएका छन् ।

जाजरकोट र रुकुम पश्चिमको निरीक्षणपछि नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार उद्धारमा लागेको बताए ।

‘आज म आफैं गएर भूकम्पबाट मुख्य प्रभावित जिल्लाहरूको निरीक्षण गरें । हताहत र घाइतेको संख्या ठूलो रहेको छ भने हजारौं घरमा क्षति पुगेको छ । म जाँदा डाक्टरहरू तथा स्वास्थ्य सामग्रीहरू सँगै लिएर गएको थिएँ । केही घाइतेहरूलाई आफैंले हेलिकप्टरबाट उद्धार गरेर ल्याएँ । राज्यले जे गर्नुपर्थ्यो, त्यो गरिएको छ,’ उनले भने ।

उद्धार र राहतका लागि ३ वटा हेलिकप्टर अझै खटिरहेको उनले जानकारी दिए । ‘स्वास्थ्यकर्मीहरू पनि सबै प्रभावित क्षेत्रमा खटिएका छन्,’ उनले भने, ‘हालसम्म उद्धारका कार्य सफलतापूर्वक सम्पन्न भएका छन् ।’

उनले भोलि मन्त्रिपरिषद् बैठक बोलाएको जानकारी दिए । ‘बैठकबाट थप राहतका बारेमा निर्णय हुन्छ,’ उनले भने ।

देशभरबाट सहानुभूति र सहयोगको स्पीरिट देखिएकोमा उनले खुशी व्यक्त गरे । छिमेकी राष्ट्रबाट पनि सहयोगको प्रतिबद्धता आएको उनले बताए ।

‘म भूकम्प प्रभावित क्षेत्रमा हुँदा विदेशबाट र मित्रराष्ट्रबाट पनि फोन आएको थियो । उहाँहरूले सहयोगका लागि तयार छौं भन्नुभएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।