अन्तिम छटपटीमा रहेका प्रतिगामीहरूको सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री प्रचण्ड

अन्तिम छटपटीमा रहेका प्रतिगामीहरूको सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्ले सरकारी लिखतहरूमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्री प्रचण्डलाई सम्मान गर्ने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उनले प्रतिगामीहरू अन्तिम छटपटीमा रहेका बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको परिवर्तन साना दुःखले आएको होइन । यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन् । लाखौं जनताले संघर्ष गरेका छन् । यो व्यवस्था कसैले उल्ट्याउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन ।’

उनले भने, ‘संसारकै नियम हो – पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोज्छन् । अहिले पनि त्यही कोसिस हुँदैछ । संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने सपना कसैले नदेख्दा हुन्छ । यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ ।’

प्रधानमन्त्री प्रचण्डले नेपाल संवत् नेपालको मौलिक संवत् भएको बताए । उनले भने, ‘हामीले विक्रम संवत् प्रयोग गरिरहेका छौं । कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ तर नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो । यसलाई राष्ट्रिय संवतको रूपमा विकसित तुल्याउनुपर्दछ ।’