काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउने कुरा मुस्किल हुने स्मरण गरेका छन् ।
आज शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुसीराम पाख्रिनको छैटौं स्मृति दिवस तथा खुसीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महसूस गरेको समेत बताए ।
भारतमा संगठन हुनुको कारणले नै भूमिगत रूपबाट धेरै सहयोग प्राप्त गरेको उनले बताए । उनले कार्यकर्तादेखि लड्ने योद्धा समेत भारतबाट पाएको उनले बताए ।
भारतमा भएका लाखौं नेपालीलाई संगठित र आन्दोलित गर्ने कुराको भूमिका पाख्रिनले गरेको उनले बताए । भारतमा संगठन विस्तार गर्न राजनीतिक नेताहरूको भन्दा पाख्रिन जस्ता सांस्कृतिककर्मीको भूमिका बढी महत्त्वपूर्ण रहेको उनले बताए ।
‘भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा सायद मुस्किल हुन पनि सक्थ्यो । भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिज भूमिगत रूपबाट त्यहाँबाट सहयोग प्राप्त गर्यौं । कार्यकर्ता प्राप्त गर्यौं, लड्ने योद्धा सिधै आएर फौजी मोर्चामा जाने र आउनेहरू पनि भयो । सबै सबै धेरै किसिमका प्राविधिकदेखि सेक्युरिटीसम्म सबै विषयमा इण्डियामा भएका लाखौं नेपालीलाई संगठित र आन्दोलित गर्ने कुराको भूमिका रह्यो । त्यसो गर्नेमा राजनीतिक नेताको भन्दा कमरेड खुसीराम पाख्रिन जस्ता सांस्कृतिककर्मीहरूको भूमिका बढी महत्त्वपूर्ण भयो । यसले निकै छिटो गतिमा नेपालीलाई संगठित गर्न र आन्दोलित हुन उत्प्रेरित गर्यो,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले पाख्रिनको स्मृति ग्रन्थले भावी पुस्तालाई उनको योगदानबारे बुझाउने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया