सुन्दर सुदूरपश्चिमको सपनाबाट देशका अन्य क्षेत्रले प्रेरणा लिन सक्छन् : प्रधानमन्त्री प्रचण्ड

सुन्दर सुदूरपश्चिमको सपनाबाट देशका अन्य क्षेत्रले प्रेरणा लिन सक्छन् : प्रधानमन्त्री प्रचण्ड


धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन्दर सुदूरपश्चिमको सपनाबाट नेपालका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्ने बताएका छन् ।

सुदूरपश्चिम महोत्सवको आज धनगढीमा उद्घाटन गर्दै उनले भने, ‘हामीले खोजेको समृद्ध संघीय समाजवादी नेपालको निर्माणमा समेत यसले निर्णायक भूमिका खेल्ने मैले विश्वास व्यक्त गर्न चाहन्छु । यसका लागि यहाँहरूको एकताबद्ध र योजनाबद्ध प्रयास आवश्यक छ ।’

उनले आगामी दिनमा सुदूरपश्चिम प्रदेश सरकारले लगानी र विकास सम्मेलनको आयोजना गर्न बताउँदै सम्मेलनमा सुदूरपश्चिम क्षेत्रमा विकास तथा आर्थिक समृद्धिका सबै क्षेत्रको वास्तविक चित्रण गर्दै व्यवस्थित र लागत सहितको कार्ययोजना तयार गर्न आह्वान गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘सोही बमोजिम लगानीका क्षेत्रहरू निर्धारण गर्ने, लगानीको वातावरणका लागि आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था गर्ने काममा यहाँहरू सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु । संघ सरकारबाट आवश्यक पर्ने सबै सहयोगका लागि मेरो प्रतिबद्धता रहनेछ ।’

उनले अहिले आफ्नै मौलिक विशिष्टतामा शासन प्रणाली रहेको उल्लेख गर्दै यसमा आफूहरू सफल भएको बताए । उनले भने, ‘हिजोका दिनमा केन्द्रीय सरकारसँग पूर्णरूपमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीय तहहरू अधिकारसम्पन्न बनेका छन् । त्यसअर्थमा पनि लोकतान्त्रिक गणतन्त्र र त्यसको संघीय स्वरूपको सबैभन्दा बढी महत्त्व सुदूरपश्चिम र यहाँका जनताले अनुभूति गरेको हुनुपर्छ ।’

हिजो राजा महाराजाहरूको जमानामा, सामन्ती राजतन्त्रको समयमा केही थान सीमित जमिन्दारहरूको मात्रै काठमाण्डुसँग पहुँच हुने अवस्थाको अन्त्य भएर अहिले जनताका छोराछोरी प्रदेश र विभिन्न स्थानीय तहको नेतृत्व गर्न सक्षम बनेका उनको धारणा थियो ।