संघीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री प्रचण्ड

संघीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री प्रचण्ड

फाइल फोटो

काठमाण्डु – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

शनिबार दिउँसो काठमाण्डुको सीतापाइलामा एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरू धेरैलाई संघीय शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासा छ । अहिले संसद् अधिवेशन समापन भएको छ । नयाँ अधिवेशन बोलाएपछि पहिलो काम नै सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन र संघीय शिक्षा ऐन संसदबाट पारित गराउन पहल हुन्छ । यो ऐन सरकारको उच्च प्राथमिकतामा छ ।’

‘तपाईं शिक्षकहरूले आफ्ना माग र मुद्दा सम्बोधन गर्न सडकबाट समेत दबाब दिनुभयो । यसले सरकारलाई सहयोग पुगेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले अहिलेको मस्यौदामा जुन सुझावहरू दिनुभएको छ, त्यसमध्ये जायज र सम्भव मागहरू सम्बोधन गरिनेछ ।’