मन्त्री फेरबदल गर्न प्रधानमन्त्रीबाट प्रस्ताव आएको छैन : कांग्रेस

मन्त्री फेरबदल गर्न प्रधानमन्त्रीबाट प्रस्ताव आएको छैन : कांग्रेस


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री फेरबदल गर्न कांग्रेससँग प्रस्ताव नगरेको नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसका नेता तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले तत्काल मन्त्रीहरू हेरफेर नहुने बताए । तर प्रधानमन्त्री प्रचण्डले केही दिनअघि देशवासीलाई सम्बोधन गर्दै मन्त्रीहरू फेरबदल हुने संकेत गरेका थिए ।

पार्टी केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गर्न आज आइतबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले कांग्रेसबाट मन्त्री बनेका कसैलाई पनि तत्काल फिर्ता बोलाउने तयारी नरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले चाहेमा दलका नेतासँग सहमति गरेर मन्त्री हेरफेर गर्न सक्ने र पार्टीमा पनि छलफल हुने उनले बताए । अहिले प्रधानमन्त्रीले मन्त्री हेरफेरको विषयमा कांग्रेसलाई कुनै प्रस्ताव नै नगरेकाले पार्टीमा छलफल नभएको उनले बताए ।