महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिनुस् : प्रधानमन्त्री प्रचण्ड

महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिनुस् : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।

आज मंगलबार दिउँसो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री, सचिव र अन्य कर्मचारीसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अत्यन्तै संवेदनशील मन्त्रालय हो तर हामीले यसलाई जति प्राथमिकता दिनुपर्ने हो, त्यसो गर्न सकेका छैनौं । तसर्थ आगामी दिनमा यसलाई प्राथमिकता दिने गरी यसको पुनर्संरचना आवश्यक छ ।’

महिलाहरूलाई आयआर्जन र आत्मनिर्भर बनाएर मात्र महिला अधिकारलाई सुदृढ गर्न सकिने उनले बताए । उनले भने, ‘त्यसका लागि महिलालाई प्राथमिकता दिने नीति र महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायलाई प्राथमिकता दिने नीति लागू गर्नुस् ।’