कोशीमा सरकार बनाउन प्रधानमन्त्री प्रचण्डले मागे राप्रपा अध्यक्ष लिङ्देनसँग सहयोग

कोशीमा सरकार बनाउन प्रधानमन्त्री प्रचण्डले मागे राप्रपा अध्यक्ष लिङ्देनसँग सहयोग


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग अध्यक्ष लिङ्देनको भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रम, कोशी सरकार गठन लगायतका विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अध्यक्षज्यू र प्रधानमन्त्रीको भेटवार्ता भएको थियो । त्यहाँ प्रधानमन्त्रीले कोशी सरकार गठनको लागि सहयोग गर्न प्रस्ताव गर्नुभएको छ । हाम्रो तर्फबाट अध्यक्षज्यूले ठोस जवाफ दिनुभएको छैन ।’

प्रधानमन्त्री प्रचण्डसँग फेरि भेट्ने सहमति भएको समेत उनले बताए ।

कोशीमा सरकार गठनका लागि गठबन्धन दलले राप्रपाको साथ खोजेको छ । कोशीमा संविधानको धारा १६८ (५) अनुसार सरकारको दाबी गर्न प्रदेश प्रमुखले असोज २६ गते समय दिएका छन् ।