काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने संकेत गरेका छन् ।
शुक्रबार नवलपुरमा पार्टी नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी धेरै पहिले सुरु भएको भए पनि अमेरिकाले दक्षिण एसियामा इण्डो प्यासिफिक सैन्य रणनीति अगाडि बढाएपछि विवाद भएको बताए ।
यसबारे पार्टीमा पर्याप्त छलफल भएको भन्दै उनले भने, ‘हामीले के भनेका छौं भने राष्ट्रिय हित अनुकुल हुने गरी जरुरी पर्दा अमेरिकासँग पुनः सम्वाद गरेर सम्भव हुनेसम्म परिमार्जन गरेर कार्यान्वयन गर्न उचित हुन्छ भन्ने स्पिरिटमा निर्णय गरेका छौं ।’
प्रचण्डले अगाडि भने, ‘सचिवालयमा छलफल गरेर राष्ट्रिय हितलाई सर्वोपारी राखेर मात्र अगाडि बढाउँछौं ।’
पछिल्लो समय अमेरिकी दूताबासले १० बुँदे स्पष्टीकरण आएको स्मरण गर्दै प्रचण्डले त्यसलाई पनि विचार गरेर नेपालको हितमा निर्णय गर्ने बताएका छन् । उनले अघि भने आजभोलि फेसबुकको जमाना छ, भएका नभएको विवाद पनि भयो भनेर फिल्डमा काम गर्ने तपाईहरुलाई कन्फ्यूज बनाउने षड्यन्त्र भएका छन् । यसप्रति सतर्क रहनु होला, हाम्रो पार्टी एकतावद्ध छ र रहनेछ ।’
सरकारको २ वर्ष न निराशाजक न उत्साहवर्द्धक भयो भन्नसक्ने स्थिति रहेको उनको टिप्पणी छ । प्रचण्डले पार्टी कमिटीहरु नहुँदा सरकारका राम्रा कामको पनि प्रचार हुन नपाएको बताए । साथै प्रदेश र स्थानीय सरकार गल्ती कमजोरी सच्याउन पनि पार्टी कमिटीको अभाव भएको बताए ।
स्थानीय सरकारहरुमा राम्रा काम पनि भएको तर अराजकता र अनियमिताको गुनासो पनि आएको बताए । यसको जिम्मा पार्टीले लिनुपर्ने भन्दै उनले भने ‘पार्टीले सरकारलाई नेतृत्व गर्ने हो, सरकारले पार्टीलाई नेतृत्व गर्ने होइन ।’
हरेक कम्युनिस्ट पार्टीको सिद्धान्त नै यही भएको भन्दै उनले सत्ताले पार्टी चलाउन नहुने बताए । पार्टी भनेको विवेक हो, विचार हो, सिद्धान्त हो, आर्दश हो र पार्टीले सरकारलाई आफनो सिद्धान्त, मूल्यमान्यतातिर लान सक्नुपर्छ ।’
‘केही ढिलो भयो तर बिग्रिएको छैन’ भन्दै उनले बाँकी ३ वर्ष पार्टीलाई एकतावद्ध गरेर जनतामा गयौं, जनताका समस्यालाई नजिकबाट समाधान गर्ने, एकाकार हुयौं भने जनतालाई पार्टी्तिर आकर्षित गर्न सकिने धारणा राखे ।
यसका लागि आगामी बजेट बजेट लोकप्रिय ल्याउनुपर्नेमा समेत जोड दिए । ‘पहिलो भन्दा दोस्रो केही अगाडि बढ्यो । अबको बजेट चाहिँ पुरै लोकप्रिय हुनुपर्छ भन्ने हाम्रो मत छ । जनभावनालाई विचार गरेर लोकप्रिय बजेटका रुपमा आउनुपर्छ ताकि पार्टीप्रति जनतालाई फेरि उतसहित गर्न सकियोस्’ उनले भने ।
नेकपा अध्यक्ष प्रचण्डले सीमा समस्याबारे भारत र नेपालका प्रधानमन्त्री स्तरमा सम्वाद भएको दाबी गरे ।
सुस्ता र कालापानीको सीमामा समस्या रहेको भनेर दुबै देशले स्वीकार गरेको तर भारतले नयाँ नक्सा जारी गर्दा लिपुलेक, लिम्पियाधुरालाई समेत आफ्नो नक्सामा पारेपछि समस्या आएको बताए ।
उनले भने, ‘हामीले डिप्लोमेटिक नोट पठाइएका छौं । प्रधानमन्त्री लेभलमा कुराकानी भएको छ र भारतले वार्ता र सम्वादबाट समाधान गर्न तयार छौं भनेर भनेको छ ।’
प्रतिक्रिया