प्रचण्डद्वारा उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना, भर्ना अभियानलाई सफल पार्न अपील

प्रचण्डद्वारा उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना, भर्ना अभियानलाई सफल पार्न अपील


चितवन– पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले ल्याएको विद्यालय भर्ना राष्ट्रिय अभियानलाई सफल बनाउन सबैमा अपील गरेका छन्।

बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माविमा आयोजित अभिभावकत्व ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान शिक्षालाई आमूल परिवर्तन गरी स्वरोजगार र आत्मनिर्भर बनाउनु पर्ने बताएका हुन्।

‘विद्यालय जान वञ्चित हजारौं बालबालिकाहरुलाई विद्यालय जाने वातावरण बनाउन शिक्षक, अभिभावकसहित सबैले भूमिका खेल्नुपर्छ,’ उनले भने।

संविधान बनाउने जटिलता चिरेर शिक्षालाई मौलिक हकको रुपमा राखिएको उल्लेख गर्दै प्रचण्डले अब कार्यान्वयनमा लैजानुपर्ने बताए। उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना गराएका थिए।

प्रचण्डले मेघौलीका एक जना मुसहर र एकजना माझी समुदायका बालकहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका हुन्। प्रचण्डले विद्यालय भर्ना गराएका बालकहरु पत्रुस मुसहर र अरुण माझी रहेका छन्।

५ वर्षका पत्रुस मुसहर शिशु कक्षामा भर्ना भएका छन् भने ९ बर्षका अरुण माझी कक्षा १ मा भर्ना भएका छन्। कक्षा १ मा भर्ना भएका माझीले आफू धेरै पढेर ठूलो मान्छे बन्ने आफूलाई बताएको अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा बताए।