छिमेकी जिल्ला समेटेर एकीकृत विकास : प्रचण्ड

छिमेकी जिल्ला समेटेर एकीकृत विकास : प्रचण्ड


चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताएका छन् ।  प्रेस सेन्टर नेपाल, चितवन शाखाले आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्रिया कार्यक्रममा बोल्दै उनले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर चितवनको विकास गर्ने योजना बनाउनु पर्ने बताएका हुन् ।

यस क्षेत्रको प्राकृतिक स्रोत साधनलाई अधिकतम उपयोग गर्दै नमूना क्षेत्रका रुपमा विकास गर्नुपर्ने भन्दै उनले देशले नै सिक्न सक्ने गरी यो क्षेत्रको विकास गरिने दावी गरेका हुन् ।

चितवन क्षेत्र नं ३ का सांसदसमेत रहेका दाहालले यस क्षेत्रको विकास गर्दा चितवन मात्रै होइन, वरिपरिको स्थितिलाई हेर्नुपर्ने भन्दै उनले ‘खासगरी नवलपुर, मकवानपुर, धादिङ, ठोरी र भारतसँग पनि चितवनको सम्बन्धलाई भूराजनीतिक अवस्थितिलाई हेरेर विकासको मोडेल बनाउनु पर्छ ।’

जुन ठाउँ जसरी रहेको छ त्यो सबैलाई हेरेर एकीकृत रुपमा विकास योजना बनाइने भन्दै उहाँले यस विषयमा केन्द्रमा पनि छलफल भइरहेको बताए । नेता, बुद्धिजीवीलगायतसँग यस क्षेत्रको विकासको विषयमा छलफल चलिरहेको भन्दै उनले भने ‘एकीकृत विकासको मोडल बनाउँदा एशियाली मापदण्डका कुरा पनि चलिरहेका छन् । अन्तर्राष्ट्रिय मापदण्डका कुरा पनि चलिरहेका छन् । त्यस्तै मोडेल हामी यस क्षेत्रमा बनाउँछौँ ।’