गोर्खा सैनिकका माग सरकारले सम्बाेधन गर्छ : प्रचण्ड

गोर्खा सैनिकका माग सरकारले सम्बाेधन गर्छ : प्रचण्ड


काठमाडाैं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ब्रिटिश गोर्खा सैनिकले उठाउँदै आएका माग सम्बोधनका लागि पहल गर्ने बताएका छन्।

ब्रिटिश गोर्खा भूतपूर्व सैनिक र उनका परिवारलाई ‘वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता तथा पूँजी पलायन’ विषयक कार्यशालालाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले बेलायतमा रहेका गोर्खा सैनिकलाई दिइने सुविधा तथा नागरिकताको निरन्तरताको मागलाई सम्बोधन गर्न प्रयास गर्ने बताए।

वंशजका आधारमा प्राप्त गरेको नागरिकतालाई खोस्ने भन्ने विषय नेपालको संविधानमा व्यवस्था नरहेकाे उल्लेख गर्दै प्रचण्डले भने– तपाईहरु नेपाली नागरिक नै हो । तपाईहरुको मागका विषयमा सरकारले सम्बोधन गर्छ।”

राष्ट्रियताका आधारमा ब्रिटिस सैनिक नेपाली भएको र नागरिकतासमेत वंशजका आधारमा नेपाली नागरिक नै भएकाले कानूनी तथा संवैधानिक विषयमा धेरै समस्या नभएको उल्लेख गरे।

‘यो पूर्व सैनिकको मात्रै नभई नेपालको चासो हो । सन् १९४७ को नेपाल, भारत र बेलायतको सहमतिअनुसार पनि बेलायती सैनिक र नेपाली सैनिकका बीचमा समानताको अधिकार स्थापित गरेको भए पनि केही अधिकारमा कमी भएको भन्ने गुनासो क्रमशः सम्बोधन भएको तथा केही अझै पनि प्राप्त गर्न बाँकी रहेको देखिएको छ,’ उनले भने।