राष्ट्रसेवक कर्मचारी खटाएकाे ठाउँमा जान तयार नभए राज्यले बिदा गरिदिनुपर्छ : प्रचण्ड

राष्ट्रसेवक कर्मचारी खटाएकाे ठाउँमा जान तयार नभए राज्यले बिदा गरिदिनुपर्छ : प्रचण्ड


काभ्रे–पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारमा केन्द्रित भएको अधिकार गाउँ गाउँमा पुगोस् भन्ने उद्देश्यले संघीयता र गणतन्त्रको ल्याएको बताएका छन्।

।काभ्रे जिल्लाको चौरी देउराली —२ स्थित  खाँडादेबी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले भने,  ‘राज्यको शक्ति विकेन्द्रित भएर जनताको घरदैलोमा लैजान हजारौंको बलिदान भएको छ। ’

अध्यक्षले अगाडि भने, “तर अहिले कतिपय कानूनको अभावमा या कर्मचारी समायोजनको अन्यौलताका कारणले ढिला भएको पक्कै पनि हो।’

राष्ट्र सेवक भनिएका कर्मचारी संविधानको मर्म र भावना अनुसार र ऐन कानूनको व्यवस्था अनुसार देशको कुनै पनि भागमा सरकारले खटाए अनुसार जानुपर्ने उनको भनाइ थियो । ‘यदि जान तयार नहुने हो भने राज्यले बिदा गर्दिनु पर्दछ र नयाँ कर्मचारी भर्ती गरेर भएपनि संविधान कार्यान्वयन तिर लाग्नु पर्दछ,’ उनले भने। अब ऐनहरु बन्न थालेको उनले संघ, प्रदेश र स्थानीय सबैतिर कर्मचारी सामायोजनको प्रक्रियाको सुरुवात हुन लागेको बताए।

प्रचण्डले पार्टीको स्थायी समिति बैठकमा सर्वसम्मत निर्णय गर्दै सफलताका साथ सम्पन्न भएको बताए।  लोकतान्त्रिक वातावरणमा छलफल गरी बैठक सम्पन्न भएको बताउँदै पुस महिनाभित्र तलैसम्म पार्टी एकता गरी सक्ने स्थायी समितिको निर्णय भएको उनले जानकारी दिए।

अध्यक्षले भने, “संविधानसभाको निर्वाचन गरेर नेपालको इतिहासका हामी गौरवशाली पुस्ता भयौं । त्यो संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । एउटा देशमा संविधानसभाको निर्वाचन एक पटक मात्र हुन्छ । हामी यसका सहभागी, साक्षी र सहयात्री बन्यौं।