निजी र सार्वजनिक क्षेत्रबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ : प्रचण्ड

निजी र सार्वजनिक क्षेत्रबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ : प्रचण्ड


चितवन– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताएका छन्।   नारायणगढमा बुधबार आयोजित १२ औं चितवन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले भने , ‘राजनीतिक द्वन्द्व र भ्रमको समापन भएको छ । राजनीतिक स्थायित्वको निम्ति बलियो सरकारको स्थापना भएको छ । अबको राज्य समाजवाद उन्मुख राज्य हुनेछ भनेपछि शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गरेपछि विकासको मोडेलबारे समस्या बाँकी छैन । मिलेर विकासका लागि काम गर्दा समस्या आउँदैन।’

पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनमा बाटो बनाउन, पर्यटनको विकास गन, पाँच वर्षभित्र सबै बाटो पिच गरिसक्न, रोजगारी सृष्टि गर्न, मेडिकल सिटी बनाउन केन्द्र सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारले काम गर्नुपर्ने बताए।  निजी क्षेत्रलाई उत्साहित नपारेसम्म समृद्धिको सपना पूरा हुन नसक्ने बताउँदै उनले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यको आवश्यकतामाथि जोड दिए।

चितवन जिल्ला सिंगै राष्ट्रको केन्द्र बन्न सक्ने बताउनुहुँदै जिल्लाको विकास राष्ट्रको विकाससँग सम्बन्धित रहेको उनको भनाई थियो । ‘चितवनमा निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीचको सहकार्य सिंगो राष्ट्रको सहकार्यसँग सम्बन्धित छ । चितवनको एकता सिंगो देशको एकतासँग जोडिएको छ । अब विकास र समृद्धिको यात्रामा देशलाई डो-याउन निजी र सार्वजनिक क्षेत्रको सहकार्य आवश्यक छ,’ उनले भने।

चितवनलाई एकीकृतरुपमा छिटोभन्दा छिटो कसरी विकास गर्ने ? कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनको क्षेत्रमा कसरी अगाडि बढाउने भन्ने विषय समेटेर समग्र चितवनको विकासका लागि गुरुयोजना आवश्यक रहेको उनको धारणा थियो । चितवन जिल्लालाई भौगोलिक, प्राकृतिक, ऐतिहासिक, साँस्कृतिक दृष्टिकोणले सिंगो राष्ट्रलाई दिशानिर्देश गर्न सक्ने हैसियत भएको जिल्ला बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनले एकतावद्ध भएर विकासमा फड्को मार्ने विश्वास व्यक्त गरे।

‘कृषि, शिक्षा, स्वास्थ्यमा गुणात्मक ढंगले विकास गर्न सकिन्छ । अझै अगाडि बढ्न सम्भव छ,’ उनले भने, ‘कृषिमा विश्वकै अब्बल देश इजरायल चितवनलाई कृषि क्षेत्रमा सहयोग गर्न तयार छ । प्रचण्डको बारेमा विश्वलाई विभिन्न कोणबाट जानकारी छ । चितवनको विकासमा विश्वका विभिन्न देशको सहयोग लिने अवसर छ हामीसँग । हामीलाई इतिहासले, भूगोलले चितवन जिल्लालाई विकसित बनाउन अग्रणी भूमिका दिएको छ । त्यो भूमिकामा तपाईं हामी छौं । राष्ट्रको निम्ति योगदान गरौं ।’