झापा विद्रोह र माओवादीको फ्युजनबाट नेकपा गठन : प्रचण्ड

झापा विद्रोह र माओवादीको फ्युजनबाट नेकपा गठन : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोह र माओवादी विद्रोहलाई फ्युजन गरेर नेकपाको गठन भएको बताएका छन्।

‘त्यसैले पार्टी एकतामाथि कुनै अड्चन आउला कि भनेर शङ्का गर्न जरुरी छैन,’ मंगलबार इलामको सुखानी शहीदभूमिमा आयोजित झापा विद्रोहका पाँच शहीदको ४६औँ स्मृतिसभामा उनले भने।  प्रचण्डले एकता प्रक्रियालाई अब केही दिनमै अन्तिम रुप दिइने बताए।

मुलुकमा माओवादी जनयुद्धको नेतृत्व गरिरहेको अवस्थामा तत्कालीन नेकपा माओवादीको केन्द्रीय कमिटीको बैठकमा आफूले माओवादी विद्रोह र झापा विद्रोहका शहीदलाई साझा शहीद मान्नुपर्ने प्रस्ताव पास गराएको उनले सम्बोधनका क्रममा स्मरण गराए।

झापा विद्रोह नेपाली राजनीतिक इतिहासमा एउटा कोशेढुङ्गा भएको बताउँदै प्रचण्डले आजभन्दा ४६ वर्षअघि शहीदले सुखानीमा गरेको बलिदानकै जगमा आजको परिवर्तन सम्भव भएको धारणा व्यक्त गरे।

‘रोल्पा र झापा केन्द्र भएका दुवै कम्युनिष्ट पार्टी एकै ठाउँ मिलेर नगई हुँदैन भन्ने सोचेर मैले त्यसबेला झापा विद्रोहका शहीदलाई उच्च सम्मान गर्ने प्रस्ताव ल्याएको थिएँ,’ उनले भने, ‘नेतृत्वकर्ताका रुपमा मैले त्यतिबेला गरेको निर्णय कति दूरदर्शी थियो भन्ने अहिले हाम्रो एकताले साबित गरिदिएको छ ।’