पार्टी एकताले राष्ट्रलाई एकतावद्ध बनाउने प्रचण्डको दाबी

पार्टी एकताले राष्ट्रलाई एकतावद्ध बनाउने प्रचण्डको दाबी


काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेक उतारचढाव भोगेर पनि अब एक हुने ठाँउमा आउने समय आएको बताएका छन् । साझा प्रकाशनमा आयोजित माओवादी केन्द्रका नेता तथा लेखक दिनानाथ शर्माद्वारा लिखित ‘बाह्रखरिको बोटमुनि’ निबन्ध संग्रहको विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र आफूप्रति लक्षित गर्दै एक जना १४ वर्ष जेल बसेर, एक जना १४ वर्ष वनवास बसेर अनेक उतारचढाव भोगेर अब एक हुने ठाउँमा पुगेको बताए । ‘राष्ट्र बलियो बनोस् भन्ने जनताको चेतना र चाहना हुँदैनथ्यो भने यो सम्भव थिएन,’ उनले भने, ‘अन्ततः इतिहासको निर्माता जनता नै हुन् भन्ने प्रमाणित भएको छ । अब समय फेरिएको छ, श्रमद्वारा सिर्जना गर्ने जनता नै इतिहासका निर्माता हुन् ।’

साझा प्रकाशन बचाउने कुरा नेपाली भाषा साहित्यको रक्षा, नेपाल राष्ट्रको एकता, नेपाली मनोविज्ञान र भावनाको कदरसँग सम्बन्धित छ भन्ने बुझाई रहेको भन्दै उनले विगतका दिनमा साझालाई जोगाउन सहयोग गरेको समेत स्मरण गरे ।  ‘मेरो यही बुझाईका कारण यो अभियानमा लाग्नुहुने सबैप्रति श्रद्धा र ऐक्यबद्धता रहँदै आएको छ,’ उनले भने, ‘विगतमा राजनीतिज्ञ र प्रधानमन्त्रीको हैसियतले सहयोग गरेकै हो, तर त्यो पर्याप्त भएको छैन ।’

आफ्नो इच्छा हुँदाहुँदै पनि साहित्यमा सक्रिय हुन नपाएको भन्दै उनले आफू प्राकृतिकरुपले नै अलि बढी संवेदनशील रहेको बताए । ‘म कविता पढ्दा पनि बोलेर पढ्न सक्दिनँ, भावुक भइहाल्छु । उपन्यास र निबन्ध पढ्दा पनि भावुक हुन्छु,’ उनले भने, ‘राजनीति र घटनाक्रमको चपेटामा मैले चाहेजस्तो समय दिन र ध्यान दिन सकेको छैन । अहिले म जे चाहन्थे, दीनानाथजीले त्यो अभिव्यक्त गर्नुभएको छ ।’

‘सबै जनता र संघसंस्थाको आशा र आंकांक्षा छ, पारदर्शी, गुणात्मक, परिवर्तन संस्थागत हुने गरी र परिणाममुखी काम होस,’ उनले भने, ‘साझाको रक्षा गर्न र नयाँ उपस्थिति अनुसार अगाडि बढाउन नयाँ सरकार दृढ हुन्छ भन्ने विश्वास छ । साझाका समस्या समाधान गर्न सरकारले गम्भीर रुपले पहल गर्नेछ ।’ नेपाल राष्ट्रलाई एकतावद्ध गर्ने तथा समृद्धि र सुशासनको जनताको आकांक्षा पूरा गर्न पार्टी एकता प्रक्रिया चलिरहेका बताए ।