गणतन्त्र उल्ट्याउने सपना नदेख्दा हुन्छ, प्रतिगामी षड्यन्त्र परास्त गर्छौं : प्रधानमन्त्री प्रचण्ड

गणतन्त्र उल्ट्याउने सपना नदेख्दा हुन्छ, प्रतिगामी षड्यन्त्र परास्त गर्छौं : प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्ट्याएर देशमा अस्थिरता गर्ने कोसिस भइरहेको बताउँँदै षड्यन्त्र असफल पारिने बताएका छन् ।

बिहीबार बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय स्कूलिङ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति दृढताका साथ अगाडि बढ्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘परिवर्तनका मुद्दा उल्ट्याएर देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र हुँदैछ । त्यसमा सबैखाले प्रतिक्रियावादी शक्तिको साँठगाँठ छ तर हामी परिवर्तनको रक्षाका निम्ति १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर सबै शक्तिहरू एक ठाउँमा उभिएर जवाफ दिनेछौं ।’

पार्टी स्कूल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजो अध्ययन, अनुसन्धान र नयाँ विषयको खोजीमा हामी सबैको रूचि थियो, त्यसले हामीलाई बाटो देखाउँथ्यो, बदलिएको परिस्थिति अनुसार अगाडि बढ्न उत्प्रेरित पनि गर्थ्यो तर आजभोलि दार्शनिक सैद्धान्तिक चिन्तन कमजोर हुँदै गएको छ । विचारको पक्षमा चिन्तन, मनन कमजोर भएको छ । त्यसको प्रत्यक्ष फाइदा व्यवस्था विरोधीहरूले उठाउन खोज्दैछन् । तसर्थ विकसित परिस्थिति अनुरूप नयाँ विचारको विकासमा हामीले जोड दिनुपर्छ ।’

‘पार्टी विभाजित हुँदा पनि हामी कमजोर भयौं, प्रतिक्रान्तिहरूको मनोबल उठ्न थाल्यो । त्यसलाई चिर्न हामी रूपान्तरणका साथ अगाडि बढ्नुको विकल्प छैन । रूपान्तरण नेताहरूबाट हुनुपर्छ, अरूलाई उपदेश दिएर हुँदैन,’ उनले भने, ‘गणतन्त्र, संघीयताको रक्षा हामीले मात्रै गर्न सक्छौं, अरूलाई खास चासो पनि छैन, उनीहरूको एजेन्डा पनि होइन । माओवादी कमजोर भए संविधान मात्रै विघटन हुँदैन, देश नै विघटनको खतरा रहन्छ । पछिल्लो समय धरान, नेपालगञ्ज, सर्लाही लगायतका स्थानमा जे प्रयत्न गरियो, त्यो सामान्य छैन । गणतन्त्र नै उल्टाएपछि संघीयता पनि रहँदैन, त्यसपछि देश नै टुक्र्याउन सकिन्छ भन्ने गम्भीर षड्यन्त्र छ । यो कुरा हामीले जनतालाई बुझाउनुपर्छ ।’

‘परिवर्तनका पक्षधर सबै राजनीतिक शक्ति एक ठाउँ उभिएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौं, राजनीतिक दलहरूबीच यसबारे छलफल चलिरहेको छ । केही दिनमा बैठक बसेर ठोस समीक्षासहित अगाडि बढ्छौं,’ उनले भने, ‘भूराजनीतिक दृष्टिले विश्वका महाशक्तिको दबाबमा हामी छौं । हाम्रा कारणले होइन, महाशक्ति राष्ट्रहरूको शक्ति संघर्षको चेपुवामा हामी पर्नसक्ने खतरा छ । रूस–युक्रेन, इजरायल–हमास युद्ध र विश्वव्यापी परिघटना हेर्दा परिस्थिति ध्रुवीकरणतर्फ गएको छ । तसर्थ नेपालले सन्तुलित र परिपक्व कूटनीतिक बाटो लिनुपर्छ । त्यसमा सरकारले सकारात्मक पहल लिएको छ । संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा हाम्रो पहल उत्कर्षमा पुगेको छ ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘कम्युनिस्टहरूले बाँचुञ्जेल परीक्षा दिनुपर्छ । म पनि परीक्षामा छु, तपाईंहरू पनि परीक्षामा हुनुहुन्छ । यसपटक सरकारले निकै विवेक र दृढताका साथ कदम चालेको छ । भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार, भूमाफियाहरूलाई कारवाही, कूटनीतिक सन्तुलन लगायतका जति काम गरिएको छ, तिनीहरूको रणनीतिक महत्त्व छ । अहिले नै उत्पात, चमत्कार गर्न सकिँदैनथ्यो । हामी गठबन्धनमा छौं, त्यसका सीमा र जटिलताहरू पनि छन् ।’