एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरूपमा विद्युतीकरण घोषणा गरिन्छ : प्रधानमन्त्री

एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरूपमा विद्युतीकरण घोषणा गरिन्छ : प्रधानमन्त्री


हेटौँडा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्ने कार्यहरू भइरहेको बताएका छन् । हेटौंडा सबस्टेसन उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले मुलुकका लागि सुनौला दिनहरू टाढा नरहनेको बताए।

उनले अब विद्युत्को पहुँच मात्र होइन, आन्तरिक रूपमा विद्युत खपत बढाउन पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् सेवा प्रवाहका लागि विशेष ध्यान दिएर उच्च प्राथमिकताका साथ काम गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरण निर्देशन दिए।

सबस्टेसनको निर्माणले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिलाई चिरेको बताए । ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले ठूला–ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य र चर्चालाई तथ्य र तथ्यांकसहित निस्तेज तुल्याएको बताए।

‘तीन ठूला सबस्टेसनहरू नेपालका नदी तथा खोलानालाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न, पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र नेपाल र भारतबीचको द्विदेशीय विद्युत् व्यापारका लागि मात्र नभएर उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि सबस्टेसनहरू मेरुदण्डका रूपमा रहनेछन्,’ प्रधानमन्त्री दाहालले भने, ‘सबस्टेशनहरू निर्माण सम्पन्न भएसँगै ऊर्जा क्षेत्रको विकास र मुलुकको समृद्धितर्फको यात्रामा अर्को एउटा खुड्किलो थपिएको छ।’

विगतमा आफ्नै नेतृत्वको सरकारले देशलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताए ।

करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्नसक्ने पूर्वाधार तयार हुनुलाई मैले देशको ऊर्जा विकासका लागि महत्त्वपूर्ण कोशेढुंगाको रूपमा लिएको दाहालले बताए । पूर्व–पश्चिम विद्युत आपूर्ति गर्न र भारतर्फ थप विद्युत प्रवाह तथा क्षेत्रीय विद्युत व्यापारका लागि हेटौंडा सबस्टेसन अर्को ठूलो ‘हब’ बनेको उनले बताए ।