कुनै एजेन्डा विशेष छलफल गर्न भारत भ्रमण गरिएको होइन : प्रधानमन्त्री प्रचण्ड

कुनै एजेन्डा विशेष छलफल गर्न भारत भ्रमण गरिएको होइन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीको भारत र राष्ट्रपतिको विदेश भ्रमणबारे संसदलाई जानकारी


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहीदिन अघि भएको आफ्नो भारत भ्रमणमा कुनै एजेन्डा विशेष छलफल नभएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण कुनै एजेन्डा विशेष छलफल गर्न नभएको बताएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन गएका उनले दुई देशबीच भएका सन्धि र सम्झौताको प्रभावकारी कार्यान्वयनबारे छलफल भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा मोदीसँग विभिन्न विषयमा छलफल भएको बताए । ‘मोदीसँगको भेटघाटमा नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउने, दुई देशबीच विगतमा भएका सन्धि-सम्झौताको प्रभावकारी कार्यान्वयन, सबै दुई पक्षीय संयन्त्रहरू, यसमा सीमा सम्बन्धी संयन्त्र पनि पर्छ, संयन्त्रहरूको बैठक सुचारु गर्ने, पंचेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत् आयोजना एवं कृषि क्षेत्रमा सहकार्य गर्नेबारेमा गम्भीर छलफल भएको थियो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको पनि दाहालले जानकारी दिए । आज संसदमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको स्वीजरल्यान्ड र जर्मनी भ्रमणको वियमा जानकारी गराएका हुन् ।