खाद्यान्न आयातमा रकम विदेशिने अवस्था अन्त्य गर्नु जरुरी : प्रचण्ड

खाद्यान्न आयातमा रकम विदेशिने अवस्था अन्त्य गर्नु जरुरी : प्रचण्ड


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि क्षेत्रमा पर्याप्त ध्यान नदिँदा खाद्यान्न आयातमा ठूलो धनराशी खर्चिनु परेकोमा बताएका छन्।

राजधानीमा आयोजित ‘दीगो मत्स्यकी तथा मत्स्यपालनमा विविधिकरण’ सम्बन्धी आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि खाद्यान्न आयातमा ठूलो रकम खर्च भइरहेको बताएका हुन्।

नेपालको संविधानले खाद्यान्न अधिकारको ग्यारेण्टी गरेको भएपनि कृषि र मत्स्यपालनका क्षेत्रमा अझै धेरै गर्नुपर्ने उनका भनाई थियो ‘एकातिर ठूलो संख्यामा युवाहरु प्रवासिन बाध्य छन्,’ उनले भने, ‘अर्कोतिर खाद्यान्न आयातमा हामीले धेरै पैसा विदेश पठाइरहेका छौं। यो स्थितिलाई परिवर्तन गर्नु जरुरी छ।’

नेपालमा मत्स्यपालनका क्षेत्रमा कतिपय चुनौती रहेको बताउँदै प्रचण्डले राज्यका तर्फबाट मत्स्यपालनमा सक्रिय किसान तथा व्यापारीहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिए।

बजारमा स्वस्थकर माछा पुर्याउने र बजारको खोजीको चुनौती रहेको बताउनुहुँदै अध्यक्षले यस क्षेत्रमा लागेका किसानहरुले माछापालन गर्दा एकैपटक ठूलो संख्यामा माछा मर्ने, बीऊ नपाइने, बजार नपाइने र झिनो प्राविधिक सहयोग पाइने अवस्थाका कारण ठूलो नोक्सानी बेहोरिरहेको अध्यक्षले बताए।