सबै माओवादी एकै ठाउँमा आउनुको विकल्प छैन : प्रचण्ड

सबै माओवादी एकै ठाउँमा आउनुको विकल्प छैन : प्रचण्ड


काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै माओवादी एक ठाउँमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

शहीद प्रतिष्ठान नेपालको १५ औं साधारण सभालाई आज सम्बोधन गर्दै उनले माओवादीको मर्म एउटै भएकाले एकै ठाउँ आउनुको विकल्प नभएको बताए ।

‘सबै माओवादी एकै ठाउँ आउनुको विकल्प छैन, माओवादीको मर्म र मुद्दा त साझा छ । माओवादी आन्दोलनसँग सम्बन्धित, शहिद र बेपत्तासँग सम्बन्धित मर्म त एउटै छन् । हामी सबैले माओवादी जतिलाई एकीकृत र केन्द्रीकृत गर्ने बित्तिकै त्यो तागत ठूलो हुनेवाला छ,’ प्रचण्डले भने, ‘र, त्यो तागतले मात्रै प्रतिक्रियावादीको जालजेललाई परास्त गर्छन् । हामीसँग हजारौं शहिद छन्, यो हाम्रो शक्ति हो । प्रतिनिधि सभाका कहिले सानो संख्या होला कहिले ठूलो ।’

उनले माओवादी नेतृत्वको सरकारमा हुँदा यो पनि भएन, त्यो पनि भएन भनेर प्रतिक्रियावादीलाई फाइदा पुग्ने काम नगर्न आग्रह गरे ।

हत्या, हिंसाबारे एमालेका नेताहरू पछाडि नहटेसम्म आन्दोलन जारी रहने उनले घोषणा गरे । उनले भने, ‘हत्या, हिंसाबारे जो कुरा उठाएका छन् एमालेका नेताहरूले, उनीहरु पछाडि नहटेसम्म हाम्रो आन्दोलन जारी रहन्छ । सबैतिबाट साथ सहयोग चाहिन्छ ।’

उनले शान्तिपूर्ण ढंगले मोर्चा बनाएर लड्ने ठाउँ भएको बताए । उनले भने, ‘प्रतिनिधि सभामा हामी कमजोर छौं तर माओवादी कमजोर होइनौं, हाम्रो विरासत छ ।’

प्रचण्डले पछिल्लो पटक प्रधानमन्त्री हुँदा गर्व गर्न लायक काम जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीदको रूपमा आधिकारिक र औपचारिक घोषणा गर्नु रहेको पनि बताए ।

उनले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा नै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको घोषणा र बिदा दिने निर्णय गर्नु पनि गर्व गर्न लायक विषय भएको बताए ।

उनले आफू प्रधानमन्त्रीमा रहँदै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रूप दिने कामका लागि कार्यदलको गठन गरेको र अहिले सफल भएको दाबी गरे ।