सरकारले एसपीपी बढाउन खोज्दैछ : प्रचण्ड

सरकारले एसपीपी बढाउन खोज्दैछ : प्रचण्ड


काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अगाडि बढाउन लागेको बताएका छन् ।

प्रेस सेन्टर नेपालले आइतबार हेटौंडामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले एसपीपीलाई अहिलेको प्रधानमन्त्रीले सैद्धान्तिक सहमति जनाएर अगाडि बढाउन खोजेको बताए ।

‘एसपीपी अगाडि बढाउनु गम्भीर चिन्ताको विषय हो । यो सरकार आफ्नो कुर्सी बचाउनका निम्ति राष्ट्रिय स्वाधीनताको सौदाबाजी गर्ने, राष्ट्रप्रति घात गर्ने काम गर्न लागेको छ’, प्रचण्डले भने ।

प्रचण्डले भने, ‘एमसीसीभन्दा अझ गम्भिर प्रकृतिको विषय एसपीपी हो । यसलाई अहिलेका प्रधानमन्त्रीले अघिल्लोपटक नै सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकी मिडियाहरूमा आइसकेको छ र अमेरिकी सरकारले त्यसलाई आधिकारिक रूपले भनी पनि सकेको छ । यो गम्भीर चिन्ताको विषय छ ।’

अमेरिकाले सैन्य सम्पर्क स्थापना गर्नका लागि एसपीपी विभिन्न देशसँग सम्झौता गरेको छ । अमेरिकाको सुरक्षा नीतिसँग जोडिएको विषय भएकाले एसपीपी सम्झौता गर्न नहुने पक्षमा नेपालका विभिन्न राजनीतिक दल, बौद्धिक वर्ग, नागरिक समाज लगायत नागरिक स्तरबाट नै एसपीपी सम्झौताको व्यापक विरोध भइरहेको छ ।

सरकारको १०० दिनको कामले सरकार कमजोर रहको पुष्टि भएको दाबी उनको थियो। उनले सरकारको काम गराइले जनतामा आक्रोस बढेको पनि बताए।

‘सरकार संविधान संशोधन गरेर जनताले प्राप्त गरेका उपलब्धी उल्टाउने षड्यन्त्रमा लागेको छ,’ प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रणको लागि चुनावी प्रणालीमा सुधार आवश्यक छ। सांसद हुनुका लागि निकै ठूलो धनराशी खर्च गर्नुपर्ने, सांसद भएपछि मन्त्री बन्नैपर्ने र खर्च उठाउनैपर्ने मान्यताका कारण सुशासन कायम हुन सकेको छैन।’ संघीयता, समावेशिताको वास्तविक कार्यन्वयनका लागि संविधानको रक्षा गर्नुपर्नेमा उनले जोड दिए।