काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारको घटनाका पछाडि ज्ञानेन्द्र शाहको भूमिका देखिएको दाबी गरेको छ ।
राजावादी समूहले शुक्रबार तोडफोड गरेको नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा स्थलगत अनुगमन गरेर समाजवादी मोर्चाको बैठक सकिएपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्ड राजावादीहरूविरूद्ध कडा कदम चाल्न सरकारलाई आग्रह गरे ।
घटनाका पछाडि ज्ञानेन्द्रको आपराधिक मानसिकता रहेको दाबी उनले गरे । ‘जे भएको छ प्रष्ट के भएको छ भने यसको पछाडि ज्ञानेन्द्र शाह नै हो । ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने इतिहासमा पनि देखिएको हो । अहिले पनि देखिएको छ । यही नै समय हो सरकारले कडा कदम चालोस्’, अध्यक्ष प्रचण्डले भने ।
उनले सरकार र प्रहरीले आवश्यक तयारी नगरेको देखिएको बताए । आक्रमण भएको जानकारी गराएपछि पनि झन्डै ४०–४५ मिनेट सुरक्षाकर्मी नदेखिनु बडो विडम्बना भएको उनको भनाइ छ ।
सरकारले आफ्नो भूमिकाको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने भन्दै प्रचण्डले अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
उनले ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन नसकिने र नेपाली जनता त्यसमा तयार नरहेको समेत बताए ।
प्रतिक्रिया