मलाई प्रधानमन्त्री बन्न हतारो छैन्, बल्ल कार्यकारी अध्यक्ष भएको फिलिङ आयोः प्रचण्ड

मलाई प्रधानमन्त्री बन्न हतारो छैन्, बल्ल कार्यकारी अध्यक्ष भएको फिलिङ आयोः प्रचण्ड


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । उनले विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको स्पष्ट पारे ।

‘मलाई प्रधानमन्त्री हुने हतारो छैन । देशमा स्थिरता हुनुप‍र्यो, स्थायित्व हुनुप‍र्यो । विकास निर्माणले गति लिनुप‍र्यो,’ उनले आफ्नो खुमलटार निवासमा शुक्रबार कान्तिपुरलाई अन्तर्वार्ता दिँदै भने, ‘म पार्टी अध्यक्षका हैसियतले देशको स्थायित्व र जनताको भलाइका निम्ति सक्रिय भूमिका खेल्छु ।’

अध्यक्ष प्रचण्डले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच स्पष्टसँग अधिकार बाँडफाँट गरिएपछि सबै भ्रमहरूको अन्त्य भएको पनि उल्लेख गरे । ‘एउटा अध्यक्ष फुर्सदिलो जस्तो, कताकता हिँडिरहेजस्तो, अर्को अध्यक्षले बैठक पनि गरेको छ, प्रधानमन्त्री पनि छ, काम पनि ओभरलोडजस्तो भन्ने फिलिङ पार्टी पंक्तिलाई थियो,’ उनले भने, ‘अध्यक्षहरूकै बीचमा छलफल हुँदा पनि त्यो भाव झल्किन्थ्यो । अब त्यो स्थितिको अन्त्य भयो । दुवै अध्यक्ष कार्यकारी भूमिकासहितका भयौं ।’

दुवै अध्यक्षको कार्यकारी भूमिका स्पष्ट गर्ने हालैको निर्णयले सरकार र पार्टी सञ्चालनमा सहज हुने उनको भनाइ थियो । उनले तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएयताको डेढ वर्ष आफूलाई ‘सेरेमोनियल अध्यक्ष’ भएजस्तो महसुस भएको अनुभूति पनि सुनाए । ‘गएको डेढ वर्षमा मलाई कार्यकारीजस्तो फिल भएन,’ उनले भने, ‘मलाई कार्यकारीका रूपमा काम गर्न त्यति सहज वातावरण थिएन । अबचाहिँ सहज भयो, दुवै अध्यक्षलाई आफू कार्यकारी भएको फिलिङ आयो ।’

पार्टी सचिवालयको बुधबारको निर्णयले ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ पुरानो सहमति प्रतिस्थापन गरेको प्रचण्डको भनाइ छ । ‘यो निर्णयले गत वर्ष जेठ २ गतेको सहमतिलाई प्रतिस्थापित ग‍र्यो, अब केही कन्फ्युजन आउँदैन,’ उनले स्पष्ट पारे ।

पार्टी एकीकरणकै बेला एक अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीको जिम्मा लिनेबारे छलफल भए पनि सहमति नभएको उनले जानकारी दिए ।

‘प्रधानमन्त्री पनि, अध्यक्ष पनि र वरीयतामा पनि एक नम्बरमा हुँदा त अर्को अध्यक्षको भूमिका छ भन्न सिद्धान्तले हुने तर व्यवहारमा नहुने अनुभव भयो,’ उनले भने, ‘अहिले दुई अध्यक्षको कार्यकारी अधिकारसहित भूमिका विभाजन भएको छ ।’ अब पार्टीको कार्यकारी अध्यक्षका रूपमा के भूमिका हुन्छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘एउटा त बैठकको अध्यक्षता गर्ने, एजेन्डा प्रस्तुत गर्ने, अध्यक्षको हैसियतले निर्णय गर्ने कुरासँग यो सम्बन्धित छ ।’

सचिवालय बैठकको निर्णयलाई स्पष्ट पार्दै उनले थपे, ‘गएको करिब डेढ वर्ष कमरेड केपी ओलीले अध्यक्षको हैसियतमा पार्टी सञ्चालन गर्नुभयो, अध्यक्षता पनि गर्नुभयो, निर्णय लिने कुरामा पनि उहाँकै अग्रसरता थियो । अब उहाँले डेढ वर्षसम्म गरेको काम मैले गर्ने हो ।’

यसअघि नेकपा सचिवालय बैठकमा अध्यक्षता दुवैले गर्दै आएको भनिए पनि बैठकका एजेन्डाहरू ओलीले प्रस्तुत गर्दै आएका थिए । गत मंसिर ४ को सचिवालय बैठकमा प्रचण्डलाई कार्यकारी बनाउने एजेन्डा पनि ओलीले नै प्रस्तुत गरेका हुन् । प्रचण्डले आफूले डेढ वर्षमा एकपटक पार्टी सचिवालय र एकपटक स्थायी समिति बैठकको अध्यक्षता गरेको स्मरण गर्दै सचिवालयको नयाँ निर्णयका कारण ओलीले अध्यक्षता गर्ने ‘च्याप्टर’ सकियो भन्ने अर्थ नलाग्ने स्पष्ट पारे ।

‘कुनै बैठक उहाँले अध्यक्षता गर्दा राम्रो हुने हामीलाई लाग्दा उहाँको अध्यक्षता गर्ने अधिकारलाई यो निर्णयले निषेध गर्दैन, जसरी हिजो उहाँले अध्यक्षता गर्दा मैले अध्यक्षता गर्ने कुरालाई निषेध थिएन,’ उनले भने ।

प्रचण्डले अब पार्टी कमिटीको बैठक पार्टी कार्यालय धुम्बाराहीमै बोलाउने जानकारी गराए । पार्टी एकीकरणको डेढ वर्षमा गत भदौ ९ गते दाहालले अध्यक्षता गरेको सचिवालय बैठकमात्रै पार्टी कार्यालयमा बसेको थियो । अध्यक्ष प्रचण्डले अध्यक्षहरूको कार्यविभाजनले एकीकरणका बेला भएको एउटा मात्रै बुँदालाई नयाँ सहमतिलाई प्रतिस्थापन गरेको बताए । अब हुने पार्टीको एकता महाधिवेशनबाट सहमतिमै नेतृत्व छान्ने पुरानो समझदारी पनि कायमै रहेको उनको भनाइ थियो ।

उनले वरिष्ठ नेता माधवकुमार नेपालको पार्टी र सरकार सञ्चालनमा महत्त्वपूर्ण योगदान रहेको बताए । ‘माधवजीसँग लामो संगत र छलफल गरेको हुनाले आनीबानी थाहा छ, मेरो पनि उहाँलाई थाहा छ,’ उनले भने, ‘अहिले उहाँ पार्टीको वरिष्ठ नेता हुनुहुन्छ । वरिष्ठ नेता र पूर्वप्रधानमन्त्रीको हैसियतले उहाँको भूमिका महत्त्वपूर्ण छ ।’