देउवाजी झुटा कुरा नगरौं, भारतलाई एक इन्च भूमि पनि दिदैनौंः अध्यक्ष प्रचण्ड

देउवाजी झुटा कुरा नगरौं, भारतलाई एक इन्च भूमि पनि दिदैनौंः अध्यक्ष प्रचण्ड


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई राष्ट्रियताको विषयलाई चुनावी एजेण्डा नबनाउन आग्रह गरेका छन् ।

सभापति देउवाले शनिबार पोखरामा भारतले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि प्रचण्डले सार्वजनिक रुपमै प्रतिवाद गरेका हुन् ।

सोमबार चितवनको भरतपुर महानगरपालिका १६ मा आयोजित उपनिर्वाचनको चुनावी सभामा उनले भने ‘देउवाजी जस्ता साथीहरु झुटा कुरा नगरौं, भौगोलिक अखण्डता, राष्ट्रिय अखण्डता र एकता जस्ता कुरा चुनावी एजेण्डा होइनन् ।’

प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकोमा कुनै द्विविधा नभएको भन्दै भारतसँग कुटनीति ढंगबाट वार्ता गरी जमिन फिर्ता गरिने बताए । ‘सुगौधी सन्धिको धारा ५ अनुसार कालीनदीभन्दा पूर्वको जमिन नेपालको हो, हामीले भारतलाई यसबारेमा पत्रको डाफ्टसमेत पठाइसकेका छौं’, प्रचण्डले भने ‘हाम्रो एक इन्च भूमि पनि दिदैनौं भारतको एक इन्च पनि चाहिँदैन ।’

प्रचण्डले पाँच बर्षको स्थीर सरकार बनेपछि टनेल र रेल मार्ग निर्माण तथा पानीजहाज सञ्चालन गर्ने काम तीव्र गतिमा अघि बढेको बताए ।

‘हामी टनेल युगमा गएका छौं, अब राजमार्गहरु सिधा हुन्छन्, नयाँ नयाँ र छोटा टनेल मार्गहरु बनाउँछौं, काम सुरु भइसकेको छ, रेल पनि आउँदैछ, पूर्वबाट सुरु हुन लाग्या छ, उत्तरबाट पनि आउँछ, दक्षिणबाट पनि आउँछ, नारायणीमा केही दिनमा नै पानीजहाज चल्छ,’ अध्यक्ष प्रचण्डले भने ।