डोरमणीलाई प्रचण्डको आग्रहः प्रदेशको राजधानी छिटो टुंगो लगाउनूस

डोरमणीलाई प्रचण्डको आग्रहः प्रदेशको राजधानी छिटो टुंगो लगाउनूस


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं– ३ को राजधानी र नामांकनको विषय छिटो टुंग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गरेका छन् ।

मंगलबार हेटौँडामा भएको भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले अब यही विषयमा अड्केर बस्ने समय नरहेको उल्लेख गर्दै राजधानी र नामको विषय सकेर विकास निर्माणमा केन्द्रित हुनुपर्ने अवस्था बताएका थिए ।

वर्तमान सरकारलाई विकास निर्माण गरेर आमूल परिवर्तन गर्ने अवसरसँगै सबै संरचना नयाँ बनाउँदा आएका जटिलताका विषयमा चुनौती पनि रहेको अध्यक्ष दाहालको भनाइ छ ।

उनले कतिपय कानून बनिसकेको र कतिपय बन्न बाँकी रहेकाले अब विकास निर्माणले छलाङ मार्ने बताउँदै नेपालको विकासको गति सन्तोषजनक रहेको अन्तर्रा्िष्ट्रय एजेन्सीले बताइरहेको समेत बताए ।

आसन्न उपनिर्वाचनमा नेकपाप्रति जनता उत्साहित रहेको उल्लेख गर्दै उनले अब आफूले अली बढी पार्टी र सङ्गठनमा जोडबल दिने भनी गरिएको निर्णयानुसार उपनिर्वाचन भएको स्थानमा पुग्दा त्यहाँ चुनाव र पार्टीप्रति जनता सकारात्मक देखिएकोले परिणाम फेरि नेकपाकै पक्षमा हुने विश्वास व्यक्त गरे ।

संविधानमा उल्लेख भएअनुसारको समाजवाद निर्माण गर्न नेकपाका दुवै अध्यक्षले भूमिका खेलिरहेको पनि उनको भनाइ थियो ।