अब दलितबाट नेकपाकै प्रस्तावमा प्रधानमन्त्री बन्छः अध्यक्ष प्रचण्ड

अब दलितबाट नेकपाकै प्रस्तावमा प्रधानमन्त्री बन्छः अध्यक्ष प्रचण्ड


काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलालाई राष्ट्रपति, सभामुख प्रधानन्यायाधीश सिफारिस गर्ने पार्टी नेकपा मात्र भएको दाबी गरेका छन् ।

कास्की–२ को चुनावी सभालाई सम्बोधन गर्न बुधबार पोखरा पुगेका प्रचण्डले अब दलितबाट पनि प्रधानमन्त्री बन्ने भए नेकपाबाट मात्र सम्भव भएको बताए ।

‘राष्ट्रपतिमा महिला सिफारिस गर्ने, उमेदवार बनाउने पार्टी नेकपा नै हो । म प्रधानमन्त्री भएका बेला प्रधानन्यायाधीशमा पनि महिला नै बनाएँ’, प्रचण्डले भने, ‘हामीले मगर समूदायबाट प्रतिनिधित्व गराउँदै महिलालाई नै सभामुख बनाएका छौैं । अब दलितबाट कोही प्रधानमन्त्री बन्छ, आदिवासी, जनजातिबाट कोही प्रधानमन्त्री बन्छ भने नेकपाकै प्रस्तावमा बन्छ ।’

तर उनले कास्की–२ मा विद्या भट्टराई महिला र दिवङ्गत रवीन्द्र अधिकारीकी पत्नी भएकैले मात्रै उमेदवार नबनाइएको स्पष्ट पारे ।

भट्टराईको नेपाली कम्युनिस्ट आन्दोलनमा विशिष्ट योगदान रहेको र नेपाली कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक उतार–चढावमा विद्या भट्टराईको अविच्छन्न योगदान रहेकाले उमेदवार बन्न योग्य रहेको बताए ।

‘कास्की–२ का जनता भाग्यमानी छन् । यहाँका जनताले गौरव गर्नुपर्छ, विद्या भट्टराईजस्तो प्रखर, महिला नेतृत्व पाउनुभएको छ,’ उनले भने ।