शेरबहादुरजीले झुट बोलेर सूर्यलाई छेक्न खोज्नुभाे, बेइमानी गर्न छोड्नुस्: अध्यक्ष प्रचण्ड 

शेरबहादुरजीले झुट बोलेर सूर्यलाई छेक्न खोज्नुभाे, बेइमानी गर्न छोड्नुस्: अध्यक्ष प्रचण्ड 


कास्की – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झुट बोलेर सूर्यलाई छेक्न खोजेको बताएका छन् ।

बुधबार पोखरामा भएको चुनावी सभामा बोल्दै प्रचण्डले देउवाको उटपट्याङले कांग्रेस इतिहास हुन लागेको बताए । प्रचण्डले गत शनिबार भएको कार्यक्रममा झुट बोलेर सूर्यलाई हत्केलाले छेक्न खोजेको बताए ।

‘शेरबहादुरजी पोखरा आएर झुठो बोल्नुभयो । घाम लागेको बेला हत्केलाले सूर्य छेक्ने काम गर्नुभयो,’ उनले भने, ‘उहाँको बोलीले कास्की २ मा विद्या भट्टराईको जित सुनिश्चित भएको छ ।’

उनले गिरिजाप्रसाद कोइरालाको पार्टी झुठ बोल्ने र बेइमानी पार्टी भएकोमा चिन्ता लागेको बताए ।

‘गिरिजाप्रसादको पार्टी झुठो बोल्ने, बेइमानी गर्न छोड्नुस् भन्ने मेरो सुझाव छ,’ उनले भने, ‘झुठो बोलेर दिउँसै रात पार्ने ? शेरबहादुरजीले यस्तो उट्पट्याङ गर्ने ?’

उनले प्रतिपक्षी दल राम्रो होस् भन्ने आफूले चाहेको पनि बताए ।

‘तपाईंहरू ओरालो लाग्नुभएको छ, कांग्रेस इतिहास होला । के कांग्रेस इतिहासको कथा बन्न चाहेको हो ?,’ प्रचण्डले भने,‘सल्लाहले नक्सा छापेको हो भन्दा लाजमर्दो कुरा हो । म कांग्रेसका साथीहरूलाई सुझाव दिन चाहन्छु, तपाईंहरू एकचोटी गहिरो गरी आत्मसमीक्षा गर्नुस् ।’
उनले कांग्रेस संविधान निर्माणको सहयात्री भएकाले साह्रै तल खसेको आफूले हेर्न नसक्ने भए ।

‘गिरिजाप्रसाद कोइरालासँग शान्ति सम्झौतामा मैले हस्ताक्षर गरेको छु । त्यही गिरिजाप्रसाद कोइरालाको पार्टी यति झुठो बोल्ने बेइमानी कुरा गर्दा कताकता चिन्ता लागेको छ,’ प्रचण्डले भने,‘झुठो बोल्न बेइमानी गर्न छोड्नुस् । होइन भने तपाईंहरू जसरी ओरालो लाग्नुभएको छ यही बुद्धि हो भने इतिहासमा नेपाली कांग्रेस थियो भन्ने ठाउँमा पुग्न बेर छैन ।

उनले कांग्रेसको अहिलेको बुद्धिले ऊ प्रतिपक्षमा रहने छाँट पनि आफूले नदेखेको बताए ।