आर्थिक विकासको खाका कोर्न संयुक्त कार्यदल : प्रचण्ड

आर्थिक विकासको खाका कोर्न संयुक्त कार्यदल : प्रचण्ड


काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिको खाका कोर्न सरकार, उद्योगी–व्यवसायी र विज्ञहरु रहेको संयुक्त कार्यदल गठन गरेर अघि बढ्न सकिने बताएका छन्।

 

सोमबार दिउँसो नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा प्रचण्डले भने, ‘सरकार गठनमा केही ढिलाई भएको छ। तर, स्थिर बामपन्थी सरकार बन्छ।’

 

 

अबको  मुख्य प्राथमिकता राजनीतिक स्थायित्व र आर्थिक विकास रहेकाे उल्लेख गर्दै प्रचण्डले त्यसका लागि कर्मचारी प्रशासन र ऐनहरुमा रहेका सीमाहरुको अध्ययन गरेर त्यसलाई बदल्नुपर्ने बताए।

 

 

‘नीजि क्षेत्रसँगको सहकार्यमा आर्थिक विकास गर्ने हाम्रो प्रष्ट धारणा छ। सरकार गठन भएपछि सम्बन्धित मन्त्रालय, नीजि क्षेत्रका प्रतिनिधि र विज्ञहरु सम्मिलित कार्यदल बनाउने र त्यसको रिपोर्टका आधारमा आर्थिक विकासको खाका कोर्न सकिन्छ । तपाईहरु पनि त्यस दिशामा अग्रसर हुनुहोस्,’ उनले भने।

 

भेटमा हरिभक्त शर्मासहितको परिसंघको टिमले बामपन्थीहरुको बहुमतले देशमा राजनीतिक स्थिरता र आर्थिक विकास हुनेमा आफूहरु आशावादी रहेको बताउँदै नयाँ सरकारलाई नीजि क्षेत्रको पूर्ण साथ र सहयोग रहने बताए।