‘प्रचण्ड-नेपाल’बीच भेटवार्ता – पार्टी एकता चाँडो गर्ने विषयमा छलफल

‘प्रचण्ड-नेपाल’बीच भेटवार्ता – पार्टी एकता चाँडो गर्ने विषयमा छलफल


काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का नेता माधवकुमार नेपालबीच पार्टी एकता चाँडो गर्ने विषयमा आज छलफल भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दुई नेताबीच भएको छलफलका क्रममा छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई अगाडि बढाउनका लागि छलफल भएको  हाे ।

भेटमा प्रचण्डले ओलीका पछिल्लो क्रियाकलाप र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछिको अवस्था विश्लेषण गर्दै एकताका लागि विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिएको स्रोतको दावी छ । एमाले नेता नेपालले भने दुई नेताबीचमात्र कुरा हुँदा पार्टी एकताबारे कार्यकर्ता प्रष्ट नहुने र अन्यौल बढ्ने भन्दै संयोजन समिति बैठकमा छलफल गर्न आग्रह गरेका छन् ।

साम्यवादका प्रणेता कार्ल माक्र्सको जन्मजयन्तीको द्विशताब्दीका सन्दर्भमा प्रमुख वाम दलको सहभागितामा यही जेठ १६ र १७ गते काठमाडौँमा हुने सभालाई व्यवस्थित बनाउन अहिलेसम्म भइरहेका कार्यको पनि समीक्षा गरिएको बताइएको छ ।

यसैबीच, एमालेले जेठ ३ गते मदन आश्रति स्मृति दिवसको सन्दर्भमा बल्खुमा आयोजना गर्ने कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डलाई विशेष वक्तामा रुपमा बोलाउने तयारी गरेको छ ।