अध्यक्ष प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुख ताओबीच शिष्टाचार भेटवार्ता

अध्यक्ष प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुख ताओबीच शिष्टाचार भेटवार्ता


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग चिनियाँ विदेश विभाग प्रमुख सोङ ताओले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान राजधानीस्थित होटल मेरिओटमा ताओले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा दुवै देशका कम्युनिस्ट पार्टीका गतिविधिबारे कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ । अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गरे ।

उनले दुई कम्युनिष्ट पार्टी बीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने बताएका थिए । उनले भने, ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामि दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु ।’

चिनियाँ विदेश विभाग प्रमुख ताओले दुबै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । उनले कम्युनिष्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्ने औल्याए । ‘देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ, ’ ताओको भनाई थियो ।