७० वर्षपछिको राजनीतिक स्थायित्वको वातावरण राष्ट्रिय सहमति : प्रचण्ड

७० वर्षपछिको राजनीतिक स्थायित्वको वातावरण राष्ट्रिय सहमति : प्रचण्ड


गोरखा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७० वर्ष पछिको यो राजनीतिक स्थायित्वको वातावरण राष्ट्रिय सहमतिका कारण सम्भव भएको बताएका छन्।

शुक्रबार गोरखाको आरुघाटमा दोस्रो आरुघाट महोत्वसको उद्घाटन गर्दै उनले भने, ‘हामीले शान्ति प्रक्रिया टुङ्ग्याए विश्वमा नयाँ सम्देश दिएका छौं, यद्दपी केही बाँकी छन्, आपसी सहमति र छलफल गरेर यो पनि टुङ्ग्याउने छौं।’

अध्यक्षले वर्तमान संविधानलाई इतिहासकै अब्बल संविधानको संज्ञा दिँदै संविधानमा शिक्षा, स्वास्थ्य, रोजगार लगायतका बिषय मौलिक हकका रुपमा समावेश राष्ट्रिय सहमतिबाट सम्भव भएको बताए। प्रचण्डले अबको एजेण्डा भनेको विकास र समृद्धिको एजेण्डा पनि राष्ट्रिय सहमति गरेर नै अगाडि बढाउनु पर्नेमा जोड दिए।

‘हामी आफ्ना इतिहासलाई र कामहरुको समिक्षा गर्दै सच्याउन प्रतिवद्ध रहेको छ, हामी सबै मिलेर यो देशलाई समृद्धि तिर लैजानुपर्दछ,’ उनले भने।

अध्यक्ष प्रचण्डले विकास, समृद्धि र निर्माणको निम्ति दुई तिहाई सरकारको यस्तो ऐतिहासिक अवसर कमै मिल्ने गरेको बताए।

बुढीगण्डकी परियोजनाका लागि आरुघाटका जनताले पुर्याएको योगदानप्रति उनले धन्यवाद पनि दिए। आरुघाटमा आफ्नो उर्जाशील समय बिताएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले सम्पूर्ण रुपले देश र जनताको पक्षमा आफूलाई समाहित गर्ने संकल्पसहित निर्णय लिएको बताए।