बुटवल- वर्तमान सरकारका केही मन्त्रीहरू फेरबदल हुने चर्चा चलिरहेका बेला सत्ताकाे नेतृत्व गरिरहेकाे दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्काल मन्त्रिपरिषद् फेरबदल नहुने बताएका छन्।
बुटवलस्थित नेकपाको पार्टी कार्यालयमा पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेर बाहिरिँदै गर्दा पत्रकारहरूकाे प्रश्नमा उनले साे कुरा बताएका हुन्। प्रचण्डले सरकारका काम कारवाही र मन्त्रीको कामका बारेमा गम्भीर समीक्षा भइरहेकाे तर तत्कालै मन्त्रिपरिषद् पुनःगठनको कुनै सम्भावना नरहेकाे बताए।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले स्थायी कमिटीको बैठकले कार्यकर्तामा एकतालाई अझै बलियो र उत्साहको सन्देश दिएको बताए। अब छिट्टै नै तल्लो तहसम्म एकताको टुङ्गो लाग्ने बताउँदै प्रचण्डले कार्यकर्तालाई पार्टी काममा सक्रियता पूर्वक लाग्न निर्देशनसमेत दिए।
यसअघि वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीद्वारा प्रकाशित ‘लोक अभियान पाक्षिक पत्रिका’को बुटवलमा विमोचन गर्दै प्रचण्डले जनताको आन्दोलनबाट एकात्मक व्यवस्थाको अन्त्य भई समाजवादतर्फ उन्मुख नयाँ क्रान्तिको शुरुआत भएको बताएका थिए।
संघीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीसहितको समानता स्थापना हुनु समाजवादतर्फ अगाडि बढ्ने सुखद अवसर भएको बताउँदै उनले यस अवसरलाई खेर पाल्न नहुने बताए।
प्रचण्डले नेकपाको नेतृत्वको दुई तिहाई सरकारले देश र जनतालाई समृद्धिको दिशामा अगाडि बढाउन खोजे पनि पराजित वर्गले प्राप्त उपलब्धीलाई निस्तेज पार्न विभिन्न प्रयत्न गरिरहेको आरोप लगाए। उनले दुई तिहाईको बहुमतको सरकारले जनताको पक्षमा काम नगर्ने हो भने प्राप्त उपलब्धी गुम्ने खतरा रहेको र सरकारले जनताका कुरा सुन्न छाडे प्रतिक्रान्तिको खतरा रहेको समेत औँल्याए।
प्रतिक्रिया